रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
डेंगु रोग नियन्त्रण र मानव बेचबिखन रोकथामका लागि बिद्यालयहरुमा सचेतना मुलक कार्यक्रमलाई तिव्र पारिएको छ । पछिल्लो समय डेंगुको संक्रमण बढीरहेकाले डेंगु रोग नियन्त्रण र मानव बेचबिखन रोकथामका लागि बर्दियाको बाँसगढी क्षेत्रका बिभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रमलाई तिव्र पारिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बाँसगढीले विभिन्न विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय सम्पर्क कार्यक्रम अनुसार विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रण, मानव बेचबिखन रोगथाम सँगै लागु पदार्थ दुव्र्यसनी समेतका बारेमा जानकारी गराउदै आएको छ ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई डेंगु रोग, मानव बेचबिखन र लागु पदार्थ दुव्र्यसनीका बारेमा सचेत बनाए घरमा गएर पनि जानकारी दिन सक्छन् भन्ने उद्वेश्यका साथ विद्यालय स्तरमा सचेतना कार्यक्रमलाई तिव्र पारिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । प्रहरीले नेरा माबि बाँसगढी, नेरा माबि लक्ष्मणपुर, जनता माबि बठुवा, त्रिभुवन माबि ककौरा, आदर्श माबि मोतिपुर, रामजानकी माबि भैसासुर, जनप्रिय माबि दमौली, दशरथ चन्द माबि गौरीपारा, लक्ष्मी माबि बबई चेपाङ्ग, धर्मभक्त माबि कर्तर्निया, भगवती प्रसाद प्रावि ढकेलामा सचेतना कार्यक्रम सञ्चालन गरि सकेको छ । कार्यक्रम निरन्तर सञ्चालन गरिने र सबै बिद्यालयका विद्यार्थीहरुलाई सचेत गराउन कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक सुनारले बताए ।
सचेतना कार्यक्रममा प्रहरी निरीक्षक सुनार र प्रहरी नायव निरीक्षक गणेश खड्काले डेंगु रोगका बारेमा जानकारी, रोगथामका उपाय, लक्षनहरुका बारेमा जानकारी गराउने गरेका छन् । बाँसगढी क्षेत्रको सुरक्षाको चुनौतिको रुपमा रहेको लागुपदार्थ दुव्र्यसनी न्युनिकरण, मानव बेचबिखन नियन्त्रणका बारेमा पनि जानकारी गराउने गरेको प्रहरी नायव निरीक्षक गणेश खड्काले बताए । भदौ २५ गते देखि सुरु गरिएको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
त्यस्तै बाँसगढी नगरपालिकाले पनि डेंगु नियन्त्रणका लागि अभियान चलाउने भएको छ । डेंगु रोगको संक्रमण देश भरी नै फैलिएकाले बाँसगढी क्षेत्रमा पनि यसको रोगथाम र नियन्त्रणका लागि बाँसगढी नगरपालिकाले सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगर प्रमुख सालिकराम अधिकारीले बताए । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्युपा बस्ने बाँस स्थान नष्ट गर्नु पर्ने र यसको लागि अभियान सञ्चालन गरी नगरबाँसीहरुलाई सचेत गराईने नगर प्रमुख अधिकारीले बताए । डेंगु नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रम सञ्चालन, ठाँउठाँउमा व्यानर राख्ने र माईकिङ्ग गर्ने गरी छलफल भईरहेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्