बसपार्क सञ्चालनको तयारी



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्कको उद्घाटन आगामी १५ गते हुने भएको छ । आउँदो १२ गतेदेखि निर्माण सम्पन्न भएको बसपार्क भित्र सम्पूर्ण बसहरु प्रवेश अनिवार्य गराउनुपर्नेछ ।

आइतबार नेपालगञ्जमा बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बस संचालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले असोज १५ गते बसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको थियो ।

बैठकले बसपार्क संचालन भएपछि नगर बस वाहेकका सम्पूर्ण बसहरु बसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसैगरी यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा ३ दिनभित्र काउण्टरको बाडफाड सहित सवै समिति र प्रालिको १÷१ जना प्रतिनिधितव हुने गरि खाका सहित प्रतिवेदन पेश गर्न अनुरोध गरेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

बैठकले बसपार्कको सुरक्षाका लागि सिसि क्यामरा, सुरक्षा काउण्टर लगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली लगायतको उपस्थिती रहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार