कोहलपुर ।
मंगलबार राती केहीबेर परेको बर्षाका कारण कोहलपुर नगरपालिका ११ मा रहेको लोकनगर डुवानमा परेको छ । लोकनगर बस्तीका ४० घर डुवानमा परेको कोहलपुर नगरपालिका वडा नम्बर ११ अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए । स्थगलत अनुगमनमा पुगेका वडाध्यक्ष थापाका अनुसार ४० घरमध्ये ४ घरहरु पुर्ण रुपमा क्षती पुगेको छ । ‘केहीबेरको बर्षाले गाउँका केही घरहरुमा पानी पसेको पाइएको छ’ उनले भने, ‘उचित ढल निकासको समस्या हुँदा यस्तो भएको हो । हामी यसबारे चाँडै नै निर्णय गर्नेछौं ।’
खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सेवाबाट बञ्चित भएको लोकनगरमा डुवान पर्दा स्थानीयहरुले भने सास्ती पाएका छन् । राती परेको पानीले डाईनामिक माध्यामिक विद्यालय छेउ र कौशिल्या मेमोरियल अस्पताल पश्चिम वडा नम्बर ६ र वडा नम्बर ११ को सिमामा पर्ने वस्ती पुरै डुवानमा परेको बताइएको छ । वर्षापछि भएको डुवानका कारण पतिराम थारु, सन्तोष थारु र रोजिका फर्निचर रहेको घर पुर्ण रुपमा भत्केको कोहलपुर नगरपालिका ११ का अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार क्षती मुल्याकंन गरेर नगरपालिकाले सक्दो राहत दिनेछ ।
कोहलपुरमा समेत पछिल्लो समय सानो झरी पर्दा समेत जलमग्न हुने समस्या देखिन थालिसकेको छ । नगरका विभिन्न भागमा रहेका ढल निकास फोहरले बुझिनु र भएका नालाहरु समेत अतिक्रमणको शिकार हुँदा केहीबेर परेको पानीले समेत नगरपालिका विभिन्न भागहरु डुवानमा पर्ने गर्दछन् । केहीदिन अघि परेको झरीको कारण समेत गोलपार्क, चप्परगौडि, खड्कवार, रोहिणी खोला आसपास लगायतको स्थानहरु समेत जलमग्न भएका थिए ।
बर्षात अगाडि नै उचित ढल निकासको व्यवस्था गर्न माग गरेपनी नगरपालिकाले ध्यान नदिदा बर्षात्मा डुवान पर्ने गरेको स्थानीयहरु बताउँछन् । कोहलपुरमा केही बर्षयता सहरिकरण बढ्दो क्रममा रहेको छ । सहरिकरण बढ्दो क्रममा रहदा ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य बर्षात हुँदा समेत मुख्य बजार क्षेत्र नै डुवानमा पर्ने गरेको छ ।
कोहलपुर ११ का स्थानीय हरिभक्त खड्काले नगरपालिकाले ढल निकासको लागि समयमा नै काम नगर्दा यस्तो समस्या आएको बताए । ‘जब डुवान पर्छ तव मात्र नगरपालिकाले थाहा पाउँछ’ उनले भने, ‘बर्षात अगाडि नै उचित ढल निकासको व्यवस्थापन गर्न सकेको भए अहिले यस्तो समस्या हुने थिएन ।’









प्रतिक्रिया दिनुहोस्