19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बीआरआई र केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता दोहोरियो, समझदारी भएन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

काठमाडौं । आजका पत्रिकाहरु चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा केन्द्रित छन् । तीनदिने भ्रमणको क्रममा गत आइतबार नेपाल आएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई भेट गर्नुको साथै परराष्ट्रमन्त्रीस्तीय द्विपक्षीय वार्ता पनि भएको थियो ।

यी भेटघाट र वार्तामा चीनले सुरु गरेको बीआरआई परियोजना तथा केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता मात्र दोहोरिएको तर समझदारी नभएको बताइएको छ । यद्यपि मनाङमा अस्पताल निर्माण, स्वयंसेवक भाषा शिक्षक आपूर्ति र पाँच हजार टेन्ट सहयोग लगायतका तीन बुँदे समझदारी नेपाल र चीनबीच भएका छन् ।

वाङको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिनफिङको आसन्न नेपाल भ्रमणको वातावरण बन्ने अपेक्षा गरिए पनि त्यस विषयमा पनि स्पष्ट जवाफ चिनियाँ पक्षबाट आएको छैन । यद्यपि राष्ट्रपतिको सी जिनफिङको सम्भावित नेपाल भ्रमणबारे चीनले सकारात्मक संकेत दिएको कान्तिपुर दैनिकले लेखेको छ ।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका छन् ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर कहिले हुने निर्क्यौल भइसकेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबारको द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भनेका छन्, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनु भएको छ ।’

द्विपक्षीय संयन्त्रको बैठकपछि प्रधानमन्त्रीलाई भेटेका वाङले त्यहाँ पनि सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौं,’ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भनेका छन् ।

सरकारको मुखपत्र गोरखापत्र दैनिकले पनि ‘चीनबाट उच्चस्तरीय भ्रमण हुने’ शीर्षकमा एक कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक भएको समाचार लेखेको छ ।

नागरिक दैनिकले भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उद्योगको जग्गा बिक्री गर्ने बाटो खुलेको समाचार लेखेको छ । भूमिसम्बन्धी ऐन २०२१ संशोधन भएसँगै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफ्नो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउने छन् । विधेयकको दफा १२ ख मा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्ने भनी उल्लिखित प्रावधानले बिक्रीको बाटो खोलिदिएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको र यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ देशका नागरिक रहेको उल्लेख गरेको छ । अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीबाट उठाउनुपर्ने अर्बौं रुपैयाँ जोखिममा परेको पनि समाचारमा उल्लेख छ ।

कारोबार दैनिकले नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बिक्री गर्न रोक लगाएपछि बीमाकम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेको समाचार लेखेको छ । यसैगरी नेपाल उद्योग परिसंघले बुधबारदेखि आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना प्रस्तुत गर्ने समाचार पनि कारोबारमा छ ।#onlinekhabar

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     7:59:41 AM  |