‘बाल विवाह सामाजिक समस्या’



शुभाकर विश्वकर्मा,कोहलपुर ।

बाँके जिल्लाका केही स्थानीय तहमामा पछिल्लो समय १६ वर्ष मै बिवाह गर्न पाउनुपर्ने माग हुदै आएको छ । विषेश गरि शैक्षिक रुपमा पछि रहेका मधेशी समुदायका महिलाहरुले यस्तो माग गर्दै आएका  छन् । १६ वर्ष मै आफ्ना छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै उनीहरुको आन्दोलन समेत गरिसकेका छन् । तर वर्षेनी बालबिवाहका घटना समेत हुने गरेका छन् । भने अर्कातिर बालबिवाह बिरुद्धको अभियानमा किशोरी क्लवहरु समेत सक्रिय हुन थालेका छन् । बाल बिवाह न्युनिकरणका लागि अभिभावकहरु पनि सक्रिय हुन थालेसकेको अवस्था छ ।

उनीहरुले विषेश गरी विद्यालय स्तरका बालबालिकाको विषयमा सरोकारवालाहरु सँग छलफल समेत गर्दै आईरहेको बताएका छन् । शुक्रबार कोहलपुरमा सम्पन्न लैंगिक मैत्री वातावरण तथा बाल बिवाह न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागि कोहलपुर क्षेत्रका अभिभावकहरुले बाल बिवाह न्युनिकरणको लागि अभियान नै थाल्नु पर्ने बताए । कार्यक्रममा बोल्दै ज्ञानज्योती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डोहना प्रसाद थारुले सामाजिक समस्याका रुपमा रहेको बाल बिवाह न्युनिकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

किशोर किशोरी अवस्थामा बढी हुने बाल बिवाह न्युनिकरणको अभिभावक र शिक्षक महत्वपुर्ण भूमिका रहने उनको भनाई थियो । कोहलपुरका नगर शिक्षा प्रमुख अनन्त कुमार पौडेलले बाल बिवाह न्युनिकरणको विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरिदै आएको जानकारी दिए । उनका अनुसार बाल बिवाह न्युनिकरण लगायतका विषयहरु पाठ्यक्रममा समेत समावेश भएको छ । कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी वलीले बाल बिवाहमा समाजमा अस्विकारको विषय बन्नुपर्ने बताईन् । सामाजिक विकास समितिकी संयोजक समेत रहेकी उनले साक्षर नगर घोषणा भईसकेकोले अब बाल बिवाह मुक्त नगरपालिका बनाउनको लागि सबैले सहयोग र पहल गर्नुपर्छ ।

‘केही समुदायका महिलाले १६ वर्षको उमेर मै बिवाह गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्दै आउनुभएको छ’ उनले भनिन्, ‘सिमान्तकृत समुदायका महिलालाई शसक्तिकरणको आवश्यक छ ।’ नगरपालिका समाजिक विकासलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । अधिवक्ता चित्र बहादुर केसीले बाल बिवाह कानुनी रुपमा बन्देज लगाईएको विषय भएकाले सबैले कानुनको पालना गर्नुपर्ने बताए ।

‘बाल बिवाह गर्दा सामाजिक आर्थिक र संंवेगात्मक विकासमा असर पर्छ’ उनले भने, ‘यसले गर्दा समाज विकास समेत नकारात्मक असर गर्दै आएको छ ।’ अभिभावक शिक्षक र सरोकारवाला मिलेर बाल बिवाह न्युनिकरणको बिकल्प नभएको अधिवक्ता केसीको भनाई छ । अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिबार