गुण्डागर्दीमा सम्झौता हुन्नः प्रहरी निरीक्षक बस्नेत



नेपालगञ्ज ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । दुई हप्ता अघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका उनले बिहीबार पत्रकारसँग कुरा गर्दै गुण्डागर्दी, चोरी र लागुऔषध कारोबार तथा दुव्र्यशन नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । प्रहरी निरीक्षक बस्नेतले नगरको शान्ति सुरक्षा प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने दाबी समेत गरे । उनले गण्डागर्दीविरुद्ध प्रहरीले शून्य सहनसिलताको नीति अख्तियार गर्ने गरेको जानकारी दिए । ‘नगरमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य हुदैन’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘नगरमा गुण्डागर्दी शून्य बनाउँछु । त्यसमा (गुण्डागर्दीप्रति) विल्कुलै कम्प्रोमाईज (सम्झौता) हुँदैन ।’

आफूले लामो समय नेपालगन्जमा विताएकाले यहाँको वस्तुस्थितिबारे जानकार रहेको र केही दिनको काम गराईको क्रममा समेत यहाँका चुनौतिहरुबारे साक्षात्कार हुने मौका पाएको भन्दै उनले नगरवासीलाई शान्ति सुरक्षाको महशुस दिलाउने अठोट गरे । उनले भने, ‘सुरक्षाका लागि २४ सैं घण्टा तयार छु, नगरबासीहरुमा सुरक्षित र भयरहित वातावरण होस्, त्यसका लागि प्रहरी सधैं नागरिकको साथमा छ । प्रहरी निरीक्षक बस्नेतले शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताइरहँदा वडा प्रहरी कार्यालयमा भौतिक श्रोतसाधन र जनशक्तिको अभाव छ । न्यून जनशक्ति र श्रोतसाधन अभावले वडा प्रहरी कार्यालयको कार्यसम्पादन विगतदेखि नै अपेक्षित प्रभावकारी हुन नसकेको यथार्थ छ । नगरमा १७ वटामात्र वडा हुँदा कायम गरिएको वडा प्रहरी कार्यालयको ९९ जनाको दरवन्दी अहिले पनि कायमै छ । जबकी ६ वटा साविकका गाविसहरु नगरमा जोडिएका छन् ।

वडा प्रहरी कार्यालयमा नगरपालिका हुँदा कायम गरिएको दरवन्दी उपमहानगरपालिका भइसक्दा पनि बढाइएको छैन । जसका कारण भित्री बस्तीबाहेकका गाउँ÷टोलमा प्रभावकारीरुपमा सुरक्षा गस्ती गर्न वडा प्रहरी कार्यालयले सकिरहेको छैन । त्यसो त वडा प्रहरी कार्यालयमा अहिले दरवन्दी अनुसारकै जनशक्ति पनि छैन । ९९ जनाको दरवन्दीमा अहिले ६३ जना प्रहरी कर्मचारी अहिले वडा प्रहरी कार्यालयमा कार्यरत छन् । जसमा पनि १५÷२० जना दैनिकजसो विदामै रहने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको शान्तिसुरक्षाको मुख्य जिम्मेवार मानिएको वडा प्रहरी कार्यालयमा दैनिक सरदर ४० जना प्रहरी कर्मचारी मात्र हुन्छन् ।

अपराध अनुसन्धानमा सघाउका लागि नगरक्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराहरुको अवस्था पनि नाजुक छ । नगरका विभिन्न चोक र सडकमा जडान गरिएका ५६ मध्ये अहिले ११ वटा सीसीटीभी क्यामेरा मात्र चालु अवस्थामा छ । यसैले पनि अहिले नगरमा प्रहरीको मोबिलाइजेशन (परिचालन) अधिकतम स्थानहरुमा हुनुपर्ने देखिन्छ । तर प्रहरी जनशक्ति अभाव यस्तो छ कि, मुख्य चोक र प्रहरी बिटमा समेत प्रहरीलाई ड्युटीमा खटाउन सकिएको छैन । गस्तीका लागि पर्याप्त दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको अभाव पनि वडा प्रहरी कार्यालयमा उस्तै छ । वडा प्रहरी कार्यालयमा अहिले २ वटा मात्र चार पाङ्ग्रे गाडी छ भने मोटरसाइकल त एउटा पनि छैन । दुई वटा चार पाङ्ग्रे गाडी पनि पटक–पटक विग्रिँदा समस्या हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रबार