6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

विपद् पुर्वतयारीमा जुटे बाँकेका दुई स्थानीय तहमा सेन्सर जडान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६  

डिल्ली शाही, कोहलपुर

बाँकेका दुई स्थानिय तहमा अत्याधुनिक सेन्सर मेसिन जडान गरिएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा संयूक्त रुपमा जडान गरिएको हो । पहिलो पटक बैजनाथ गाउँपालिका वडा नं.१ मा सेन्सर जडान भएको छ । भूकम्प,बाढी र विपद् बारे पुर्व जानकारी दिने अत्याधुनिक मेसिन सेन्सर जडान गरिएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिए । उनका अनुसार कोहलपुर र बैजनाथमा ६÷६ वटाका दरले सेन्सर मेसिन जडान गरिने छ ।

कोहलपुर नगरपालिका विपद् व्यवस्थापनलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतामा राखेको उनको बताए । नगरपालिकाले ३ करोड ३० लाख लागतमा अत्याधुनिक सेन्सर मेसिन जडान गर्ने नगर प्रमुख रावतको भनाई छ ।‘कोहलपुरमा विपद् जोखिममा क्षेत्र धेरै छन्’उनले भने ‘नगरबासीलाई आपत्कालिन् विपद्बाट जोगाउनको लागि सेन्सर मेसिन जडान गरिएको हो ।’ कोहलपुर र बैजनाथका गरि १२ स्थानमा जडान गरिने मेसिनको प्रमुख नियन्त्रण कक्ष कोहलपुर नगरपालिकामा हुनेछ । कोहलपुरका विपद्को जोखिममा रहेका वडाहरु नं. २,४, ८,१२ र १४ मा जडान गरिने नगरपालिकाले जनाएको छ । यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले पहिलो पटक वडा नम्बर १ मा सेन्सर मेसिन जडान गरिएको र अन्य वडामा निकट भविश्यमा जडान कार्यलाई तिव्रता दिने बताए ।

अध्यक्ष रुचालका अनुसार यसअघि नै बैजनाथ गाउँपालिकाले क्षेत्र पहिचानका साथै पालिका तथा वडा स्तरीय विपद् व्यवस्थापन समिति समिति बनाईएको छ । सेन्सरले भुकम्प, हुरी बतास, बाढी आउनु भन्दा पहिले पूर्व जानकारी दिनेछ । आपत्कालिन विपद्को सामना गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिदै उनले गाउँपालिका स्तरीय विद्यालय, संघ—संस्था रटोलटोलमा विपद् जोखिम व्यवस्थापन बारे अभिमुखिकरण कार्यक्रम गरिने बताए ।

इन्जिनियरद्धय अरुण सुवेदी र अमृत सुनारले बाँके जिल्ला मै पहिलो पटक नयाँ प्रविधि सफलताका साथ जडान गरिएको बताए । ‘भूकम्प, बाढि, हुरीबतासको पूर्व जानकारी भन्ने कुरा भूकम्पको इपिसेन्टरको र सेन्सर रहेको दूरीमा निर्भर रहन्छ’ ईन्जिनियर सुनारले भने,‘जति इपिसेन्टर र सेन्सरको दूरी बढ्छ, त्यति ढिलोे साइरन बज्छ ।

करिब सय किलो मिटर टाढा इपिसेन्टरको दूरी रहेमा भूकम्प आउन २० सेकेन्ड पूर्व जानकारी प्राप्त हुन्छ ।’ तर, इपिसेन्टर जति नजिक भयो त्यति पूर्वजानकारी कम उपलब्ध हुने उनको भनाइ छ । विपद्को जानकारी दिनको लागि प्रविधिलाई कुनै पनि टेलिकम्युनिकेसन सिस्टममार्फत मोबाइल एब्लिकेसनको माध्यमबाट मोबाइलमा जानकारी दिन सकिने सुवेदीको भनाई छ । कोहलपुर नगरपालिका स्तरीय सरकारी तथा निजि विद्यालय स्तरमा विद्यार्थीलाई विपद् जोखिम व्यवस्थापन बारे अभिमुखिकरण कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा बताउँछन् ।

वर्षेनी डुबानका कारण विपद्को सामना गर्नु परेको भन्दै आगामी दिनमा विपद् व्यवस्थापन गर्न दीर्घकालिन योजना बनाएर अघि बढेको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताए । यस्तै बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्त राज आचार्यका अनुसार विपद्को उच्च जोखिममा यहाँका महिला बालबालिका र सिमान्तकृत वर्ग रहेको बताए । सुरक्षाका दृष्टिकोणले उच्च जाखिममा रहेका वर्गको सुरक्षाको लागि गाउँपालिकाले सधै गम्भिर रहेको उनको भनाई रहेको छ । यो परियोजना राष्ट्रिय विपद् विज्ञान तथा प्रविधि केन्द्रको सहजीकरणमा नयाँ प्रविधिको अध्याधुनिक सेन्सर जडान गरिएको हो ।

प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     1:09:00 PM  |