१५ लाख घुस लिदालिदैं तीन इन्जिनियरसहित चार पक्राउ



मिन अधिकारी । राजापुर, बर्दिया ।

कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित पक्राउ परेका छन् । शनिबार दिउँसो अख्तियारको टोलीले बर्दियाको गेरूवा गाउँपालिका–१, बिहानी बजारस्थित एचआरपि कटेजबाट घुसको रकमसहित चारै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट पुगेको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको थियो । निर्माण व्यवसायी र उपभोक्ताबाट बाट घूस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको नेपालगन्जस्थित अख्तियार प्रमुख गणेश गैरेले जानकारी दिए । उनीले दसी सहित पक्राउ गरिएकालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको बताए । बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले ३ पटकसम्म कर्णाली आयोजनाका इन्जिनियरलाई गुणस्तर सम्बन्धमा सचेत गराएपनि अटेर गरेको जानकारी दिए ।

आयोजनाको कामको सहजीकरणबापत् उनीहरुले उपभोक्ता तथा निर्माण व्यवसायीसँग २० लाख रुपैयाँ माग गरेका थिए । स्रोतका अनुसार अन्तिममा १५ लाख रुपैयाँमा कुरा मिलेको थियो । त्यही १५ लाख रुपैयाँ उनीहरुले बुझे लगत्तै अख्तियारको टोलीले तीन इन्जिनियर र एक चालक सहित चार जनालाई रङ्गेहात पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ५ गते आइतबार