1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

प्यान’ अनिवार्य नीतिको विरोधमा व्यवसायी, नेपालगन्जका बजार बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २, २०७६  

नेपालगन्ज

नेपालगन्ज व्यवसायीले बुधबार बन्द गराएका छन् । सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलनस्वरुप व्यवसायीले नेपालगन्जका व्यापार, व्यवसाय बन्द गराए । ब्यापारीले सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै आन्दोलन गर्दै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योग, व्यवसाय बन्द गरिएको संघले जनाएको छ । संघको आन्दोलनका कारण यहाँको व्यापार, व्यवसाय दिनभर ठप्प भएको थियो । साउन १ गते बाट सरकारले नयाँ नीति, नियम लागू गरेको छ ।

उद्योगी, व्यवसायीले एक हजारभन्दा माथि ज्याला भुक्तानी गर्नु परेमा सम्बन्धित ज्यालादारी कामदारको प्यान नम्बर आवश्यक पर्ने प्रावधान अव्यवहारिक रहेको भन्दै खारेजी गर्नुपर्ने माग गरेका छन् । यस्तै ढुवानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर, न्यूनतम आधारभूत खाद्य वस्तुहरूमा लगाइएको मूल्य अभिवृद्धि कर र अग्रिम आयकर, बैंक खातामार्पmत् पारिश्रमिक तत्काल गर्न भुक्तानी गर्नुपर्ने व्यवस्था, सामाजिक सुरक्षा कोषका प्रावधानलगायत नीति खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारले अव्यवहारिक नीति, नियम लादेका कारण उद्योग, व्यवसाय क्षेत्र बढी मर्कामा पर्ने निश्चित रहेको बताए । ‘सरकारलाई कर बुझाएरै हामीले उद्योगी, व्यवसाय चलाएका छौं,’ उनले भने, ‘अहिले सरकारले हामीलाई नै थला पार्ने गरी नीति, नियम लागू गर्दैछ, यसको घोर विरोधमा हामी छौं, सरकारले चाँडै निर्णयलाई सच्याउने काम गर्नुपर्छ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अव्यवहारिक नीति, नियमबारे देशभरका उद्योगी, व्यवसायी असन्तुष्ट रहेको बताए। ‘नेपालगन्जबाट यो आन्दोलनको सुरुवात भएको छ, अब देशभरका उद्योगी, व्यवसायी सडकमा उत्रिने अवस्था आउँछ,’ उनले भने, ‘सरकारलाई बेलैमा नीति, नियम सच्याउन सुझाव र दबाब दिइरहेका छौं।’

प्रकाशित मितिः बिहिबार, साउन २, २०७६     11:26:34 AM  |