बाघ हेर्न बर्दिया निकुञ्ज



सुदीप अधिकारी । बर्दिया ।

पछिल्लो केही वर्षयता बर्दिया निकुञ्जमा पर्यटकहरुको चहलपहल भने निकै बढेको छ । पछिल्लो समयमा बर्दिया निकुञ्जमा बाघको संख्या बढेपछि यहाँ घुम्न आउने पर्यटकहरुको चहलपहल पनि बढेको हो । निकुञ्जमा सजिलै बाघ देख्न पाइने भएपछि पर्यटक बढ्दै गएका छन् । आन्तरिक तथा विदेशी पर्यटक दिनहुँ वन्यजन्तु अवलोकनका लागि निकुञ्ज आउने गरेका छन् । अघिल्लो वर्ष विदेशी पाहुँनालाई बाघ देखाउन बर्दिया निकुञ्जमा जंगल वाक गएको नेचर गाइड रामजी थापाको टोलीले एकै दिन ७ बाघ देख्यो ।

दुर्लभ वन्यजन्तुको यो दुर्लभ दृश्य देखेर विदेशी पाहुँनासहितको यो टोलीको खुशीको सीमा नै रहेन । बाघ देखे लगत्तै उनीहरुले खुशीयाली मनाउँदै एकअर्कामा अंकमाल गरे । अनी केही क्षणमै बाघको दुर्लभ दृश्यको खबर फोन र समाजिक संञ्जालमार्फत सबै तिर बाँडे । सात बाघ एकै साथ, एकै क्षेत्रमा देखिएको सम्भवत यो पहिलो दृश्य हो । महिना दिन यता बर्दिया निकुञ्जमा दिनहुँजसो बाघ देख्न पाइन्छ । सजिलै बाघ देख्न पाउँदा निकुञ्ज अवलोकन गर्न आएका आन्तरीक तथा वाह्य पर्यटकहरु खुसी भएका छन् । ‘

यस अघि एउटा वा दुई वटा सम्म बाघ देखिन्थ्यो । यस पटक भने नसोचेकै भयो । ७ वटा बाघ देख्दा त पाँहुना (पर्यटक)को खुशीको सीमा नै रहेन,’बर्दिया टाईगर रिसोर्टका संचालक रामजी थापाले भने । निकुञ्ज आउने पर्यटकहरुले विगतका वर्षमा तिन चार दिन लगाएर बडो मुस्कीलले बाघ हेर्न पाँउथे तर पछिल्लो समयमा दिनहुँ बाघ हेर्न पाउँदा पर्यटकहरु धेरै खुसीको थापाको भनाई छ । वाह्य पर्यटकहरुका लागि सिजन सुरुवात हुने बेलामा निकुञ्जमा दिनहु बाघ देखीन थालेपछी निकुञ्ज अवलोकनगर्न आउने आन्तरीक तथा वाह्य पर्यटकको बढ्दो आगमनले निकुञ्ज आसपास ठाकुरद्धाराका होटल व्यवसायीहरु खुसी भएका छन् ।

आन्तरिक पर्यटकसँगै जर्मन, इंगल्याण्ड, ईजराईल, फ्रान्स, भारत लगाएतका देशबाट बर्दिया निकुञ्ज अवलोकन गर्न आएका पर्यटकहरुले चितवनमा मात्र बाघ देख्न पाईने सुनेपनि बर्दियामा पनि सजिलै बाघ देख्न पाए पछि खुशी लागेको बताएका छन् । दिनहुँ बाघ देख्न पाए पछि केही पर्यटकले यहाँको बसाइ लम्ब्याउने गरेको नेचर गाइड राम शाहीले बताए । बर्दिया निकुञ्जमा बाघको वासस्थान राम्रो भएकाले गर्मी बढ्न थालेपछी पानीमा बाघ पौडीन आउने भएकाले निकुञ्ज भित्रै रहेको कर्णाली तटिय क्षेत्रमा दिनहु बाघ देख्न पाईएको बर्दिया निकुञ्जका कर्मचारी बताउँछन् । कर्मचारी भन्छन्, पर्यटकहरुले माघ अन्तिम सातादेखि फागुन अन्तिमसम्म लगातार बच्चा सहितका बाघ देख्न पाईरहेका छन् ।

वर्षा सुरु भएर ठुलो पानी नपरुन्जेलसम्म निकुञ्ज भित्र अझैँ ३ महिना दिनहुँ बाघ देख्न सकिन्छ । बर्दिया निकुञ्ज क्षेत्र ठाकुरद्धारामा अहिले धेरैजसो आन्तरीक पर्यटक र वाह्य पर्यटकहरुको चहलपल पनि बढेको छ । बाघ लगाएतका अन्य वन्यजन्तुका लागि बर्दिया निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ । निकुञ्ज घुम्न आउने पर्यटकहरुले कर्णाली नदिमा र्याफ्टिङ पश्चात निकुञ्ज भित्र रहेका बाघ, हात्ती, गैँडा, निलगाई, बाह्रसिँगा, चित्तल, गोही, कछुवा लगाएत थारु सँग्राहलय, हात्तीसारको हात्ती प्रजनन केन्द्र र शिव सामुदायिक वनमा रहेका गैँडा अवलोकन गरेर समेत मज्जा लिने गर्छन । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् । तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ११ गते बुधबार