नेपालगञ्ज ।
भारतबाट हेल्मेटमा लुकाई नेपालतर्फ ल्याउदै गरेको लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा खटेको ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको संयुक्त टोलिले बैजनाथ गाउँपालिका २ का प्रकाश थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक दिपक मल्लका अनुसार उनको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । सशस्त्र प्रहरी सहायक हवल्दारबाट उपदानमा निस्केका थापाले भे ४ प ५४७४ नम्बरको मोटरसाईकलमा भारतको रुपैडिहाबाट नेपालगन्ज आउदै गर्दा प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरी नियन्त्रणमा परेका थापाले सशस्त्र प्रहरीबाट उपदानमा निस्कदा परिचय पत्र लगायत नबुझाई दुरुपयोग गर्दै आएको पाईएको छ । उनीबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।