नेपालगञ्ज ।
नेपालगञ्जमा माझी प्रोडक्सन सञ्चालनमा आएको छ । प्लाष्टिकका झोलाको विकल्पका रुपमा कागजका झोलाहरु उत्पादन गर्ने उद्देश्यले नेपालगञ्जको वडा नम्बर १२ मा मंगलबारदेखि माझी प्रोडक्सन सञ्चालनमा आएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले प्रोडक्सनको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगञ्जलाई प्लाष्टिकमुक्त नगर बनाउने घोषणा गरिएका बेला कागजका झोला उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा आएको माझी प्रोडक्सन सहयात्री हुने भन्दै प्लाष्टिकमुक्त नहर बनाउने अभियानमा संगसंगै अघि बढ्ने बताए ।
उपमहानगरको मिसनलाई सघाउने गरी सञ्चालनमा आएको भन्दै प्रोडक्सनलाई उहाँले सफलताको शुभकामना व्यक्त गरे । उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, ११ का वडा अध्यक्ष उज्ज्वलसिंह राठौर लगायतको उपस्थिति थियो ।
कार्यक्रममा माझी प्रोडक्सनका प्रोप्राइटर कुमार अधिकारीले ५० लाखको लागतमा सञ्चालनमा आएको प्रोडक्सनले हाल कागजका झोला उत्पादन गर्ने बताउँदै भविष्यमा कागजका कप, प्लेट, दुना पनि उत्पादन गर्ने जानकारी दिए । वातावरणमैत्री कागजका सामग्री उत्पादन गर्दै नगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहयोगी बन्ने उद्देश्यले प्रोडक्सन सञ्चालनमा ल्याइएको अधिकारीले बताए ।