विमान नउड्दा प्रधानमन्त्री ओलीको ब्यारेकमा बास



कोहलपुर ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि मंगलबार नेपालगञ्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसम खराबीका कारण श्री एयरलाइन्सको विमान चल्न नसकेपछि नेपाली सेनाको ब्यारेकमा बास बसेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरी बबईको सुरुङ ‘ब्रेक थ्रु’ गरिसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिक्टा सिँचाई आयोजनाको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट हेलिकोप्टर चढेर सुर्खेत पुगेको थियो । सुर्खेतबाट नेपालगञ्ज फर्किइसकेपछि प्रधानमन्त्री ओलीले उपमहानगरपालिकाभित्र खोलिएको होटल सोल्टीको उदघाटन गरे ।

प्रधानमन्त्री ओली मंगलबार नै काठमाडौं फर्किने कार्यक्रम थियो । तर, काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको विमान मौसमको खराबीका कारण नेपालगञ्जमा बस्न नसकी आकाशबाटै काठमाडौं फर्कियो । विमान नआएपछि प्रधानमन्त्री नेपालगञ्जस्थित सेनाको ब्यारेकमा बास बसेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ४ गते बुधबार