कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो ।
आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर पिच निर्माण कार्यलाई तिब्रता दिइएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए । माघ २५ देखि सञ्चालन गरिने आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट तर्फको खेल कोहलपुर क्रिकेट मैदानमा हुने पक्का भएपछि मैदान निर्माण कार्यले तिब्रता पाएको हो ।
थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले दिनरात नभनी काम गरिरहेको क्यूरेटर प्रफुल्ल प्रधानले जानकारी दिए । क्रिकेट मैदानमा निर्माण गरिने पिचकालागि विशेष खालको माटो आवश्यक पर्ने भएपनि माटोको सहज उपलब्धताले पिच निर्माण प्रक्रियामा थप सहजता आएको प्रधानले बताए । प्रतियोगिताकालागि ९० फिट लम्बाई र ३० फिट चौडाई क्षेत्रफलमा ३ वटा पक्की पिच निर्माण गरिने प्रधानले जानकारी दिए ।
पिचका लागि विभिन्न चरणमा काम गर्नुपर्ने भएकाले सोलिङ गर्ने, माटो पाट्ने, लेबल मिलाउने, घाँस उमार्ने लगायतका कार्यहरु डेढदेखि २ महिनाभित्रमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ आफुले काम गरिरहेको क्यूरेटर प्रधानले जानकारी दिए ।
पिचका अलावा क्रिकेट मैदानलाई पक्की पर्खालले घेरबार गर्ने र गेट लगाउने काम समेत भइरहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए । वलीले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी मैदानमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भइरहेको दावी समेत गरे ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर क्रिकेट मैदानमा आधुनिक शौचालय निर्माण गरिएको छ भने, आठौं राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै ड्रेसिङ रुम समेत निर्माण गर्न लागिएको राष्ट्रिय टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी कोहलपुर नगर विकास समितिको १ करोड ३८ लाख लागतमा मैदानको उत्तरतर्फ तटबन्धन गर्ने कार्य समेत सुरु गरिएको छ । –काँचुली खबर
प्रतिक्रिया दिनुहोस्