कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको छोटोदुरीको बसपार्क क्षेत्रको उत्तरपट्टी घर टहरा गरी बसेकाहरुलाई उक्त जग्गा खाली गरी आधुनिक बसपार्क निर्माणमा सहयोग पु¥याउन कोहलपुर विकास सर्घष समितिले माग गरेको छ ।
मंगलबार कोहलपुरमा पत्रकार सम्मेलन गरी समितिले सो क्षेत्रका टहरा हटाई कोहलपुरको विकासका लागि बसपार्क निमार्णमा सहयोग पु¥याउन आग्रह गरेको हो । साथै उक्त अतिक्रमित जगगा खाली नगरे सशक्त आन्दोलन गर्ने समेत चतावनी दिएको छ ।
कोहलपुरमा निमार्णधिन छोटोदुरीको बसपार्क निमार्णका क्रममा समस्या भएको भन्दै कोहलपुर नगरविकास समिति पटक पटक गरेको आग्रहलाई बसपार्कबासीले अटेरी गरी हालसम्म टहरा नहटाएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले कोहलपुरको विकासमा अवरोध गर्ने तत्वहरु सक्रिय रहेकाले उनीहरुलाई परास्त गर्नुको विकल्प नरहेको बताए ।
विकास विरोधी त्यस्ता तत्वहरुलाई परास्त गर्न विकासप्रेमी सबै एकजुड भई कोहलपुरको सम्रग विकासमा एकतावद्ध हुनुपर्ने उनको भनाइ थियो । साथै यस क्षेत्रको विकासमा कोही वाधक बन्न नहुने उनको धारणा थियो ।
सम्मेलनमा बोल्दै नेकपाका नेता खिल प्रसाद भुषालले आफ्नो पार्टी सधै विकास र समृद्धिको पक्षमा रहेको बताए । उनले कोहलपुरकोे विकासको लागि यस क्षेत्रका नेताहरुलाई आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

‘कोहलपुरलाई दुहुनो भैसी बनाएर जाने मात्रै भटिए, यसको विकास विकास र समृद्धिको लागि सोच्ने कोही भएन’ उनले भने ।
कोहलपुरको विकासको लागि आफ्नो पार्टीले संघर्ष गर्ने उनको भनाइ थियो ।
छोटो दुरीको बसपार्क मात्र नभई लामो दुरीको बसपार्क निर्माणका लागि पनि पहल गर्नुपर्ने उनको धारण थियो । उनले भने, ‘ छोटो दुरीको बसपार्क बन्दै गर्दा लामो दुरीको बसपार्क निर्माणमा पनि सबैले पहल गर्नुपर्छ ।’
साथै उनले शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईलाई कोहलपुरको विकास विरोधी रहेको आरोप लगाए । ‘शहरी विकासमन्त्री राईले कोहलपुरको विकासमा हरेक ठाउँमा टाङ अड्याएका छन्, त्यसका विरुद्ध कोहलपुरवासीहरुले आन्दोलन गर्नुपर्ने समेत आउँन सक्छ ।’
यस्तै राष्ट्रिय जनमोर्चाका भिम प्रसाद देवकोटा अतिक्रमित बसपार्कको जग्गा उनीहरुले नछोड्नुको पछाडि ठूला राजनीतिक दलहरु नै मुख्य कारक भएको बताए । उनीहरुकै दोभाषे चरित्रका कारण विकास निर्माणमा बाधा पुग्ने गरेको उनको भनाइ थियो ।
उनले भने ‘ठुला दलका नेताहरुले एक ठाउँमा गएर कोहलपुरको विकासका निम्ति यस्तो गर्छौ उस्तो गर्छौ भन्दै ठुला ठुला भाषण गर्छन्, तिनीहरुले अर्को ठाउँमा गएर विकासको वाधक बन्ने गरेका छन् ।’
बाँके क्षेत्र नं.१ की समानुपातिक सांसद पूर्णाकुमारी सुवेदीले उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई हटाउनु हुँदैन भन्ने दिएको अभिव्यक्तिलाई नै आधार बनाएर उनीहरुले सो अतिक्रमित जग्गा खालि नगरेको बताए । साथै यसअघि पनि सांसद सुवेदीले बसपार्कको गग्गा अतिक्रमण गरी बसेका २८ घरधुरीलाई जग्गाधनि पूर्जा दिलाउन खोजेको र त्यो आफुहरुले नै खारेजी गर्न लगाएको बताए ।
त्यस्तै सर्घष समितिका अध्यक्ष टेकराज आर्चायले १ नं क्षेत्रका समानुपातिक सांसद पुर्णा कुमारी सुवेदीले बसपार्कवासीका टहरा हटाउनु हँुदैन भन्ने अभिव्यक्ति दिएको हुँदा बसपार्कबासीले त्यसैलाई ढाल बनाएर टहरा हटाउन अटेरी गरेको बताए । साथै उनले सम्बन्धित निकायले टहरा नहटाए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिए ।
समितिले सो क्षेत्रका टहराहरु हटाउन कोहलपुर नरविकास समिति, कोहलपुर नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत ज्ञापनपत्र बुझाई सकेको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बसपार्कबासीले २०७५ साल ५ महिना २२ गते सर्वपक्षिय बैठकमा उपस्थित भई सो क्षेत्र खाली गर्ने छौ भनि हस्ताक्षर गरिएको तर आफै कार्यन्वयन नगरिएको भन्दै समितिले अतिक्रमित सरकारी जग्गा खाली गराउन समेत अनुरोध गरेको छ ।
साथै समितिले प्रधानमन्त्रीलाई तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नगरविकास समितिमा शान्तिपुर्ण धर्ना गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । अन्तमा मागको सुनुवाई नभए कोहलपुर नगरपालिका र कोहलपुर नगरविकास समितिमा तालाबन्दी गर्न समिति बाध्य हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्