8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

काठमाडौँ/  यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । धनगढीले इङ्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी बलर उमेद आसिफलाई टोलीमा भित्र्याएको धनगढी ब्लुजका मुख्य लगानीकर्ता व्यवसायी सञ्जीव शर्माले जानकारी दिनुभयो । प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउनेछन् ।

पिपिएलमा धनगढीले कात्तिक १० गते काठमाडौँ रोयल्स, कात्तिक ११ गते विराटनगर टाइटन्स, कात्तिक १४ गते चितवन राइनोज, कात्तिक १५ गते बुटवल ब्लास्टर्स र कात्तिक १६ गते पोखरा पल्टनसँग खेल्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।

यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । यसअघि प्रतियोगितामा भाग लिनेछ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । रासस

प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     8:43:13 AM  |