19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

चर्चित हेमकार हत्याकाण्डका अभियुक्त १३ वर्षपछि पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५  

नेपालगञ्ज/   नेपालगञ्जका सुन व्यवसायी हेमकार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । हत्याका मुख्य योजनाकार भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार बिहान ८ बजे जमुनाहा नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।

२०६२ साल फागुन २३ गते नेपालगञ्ज १५ हाल उपमहानगरपालिका वडा नं. ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित परिवारका ४ जना र पसलमा काम गर्ने एक कामदारसहित ५ जनाको राती सुतेको अवस्थामा घाँटी रेटर विभित्स हत्या भएको थियो । हत्याकाण्डको सुराक नछोड्ने उद्देश्यले हेमकारको घरमा पालिएको एउटा सुगाको समेत हत्या गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आईतवार पत्रकार सम्मेलन मार्फत् अभियुक्त सोनीलाई सार्वजनिक गर्दै जमुनाहा नाका भएर नेपालगञ्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको बताएको छ ।

१३ बर्षअघि जगदेवकी ८२ बर्षीया आमा गुलाव देवी हेमकार, ६२ बर्षीय जगदेव हेमकार, ४५ बर्षीया श्रीमती सीतादेवी हेमकार, ३२ बर्षीय छोरा दिपक हेमकार, ज्वेलर्समा काम गर्ने साविकको खासकुश्मा गाविस १ कुसुमका १५ बर्षीय रामशनिच्चर चौधरीको धारिलो हतियार प्रहार गरी घाँटीको रुद्रघण्टी काटेर हत्या गरिएको थियो । हत्या आरोपी किशोरीलाल सोनी दिपक हेमकारका सहोदर ससुरा हुन् ।

दिपककी श्रीमती दिपा भने घटनापछि फरार छिन् । घटनामा अझैं धेरैको संलग्नता रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । हेमकार हत्याकाण्डपछि बाँकेको विभिन्न स्थानमा रहेको जग्गा मृतकको हकदार दिपा हेमकारको नाममा २०६३ जेठ १४ गते नामसारी भएको थियो ।

मृतक दिपककी पत्नी दिपाको नाममा आएको जग्गा विभिन्न मितिमा नेपालगञ्जकै विभिन्न व्यक्तिको नाममा पास भएको खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । घटना भएको भोलीपल्ट २०६२ फागुन २४ गते मृतक जगदेवका छोरा मनोज हेमकारले प्रहरीमा जाहेरी दिएका थिए ।-सदरलाइन

प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५     8:49:24 AM  |