कोहलपुर/ कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा लगाइएको ताला खुलेको छ ।
सदस्यता वितरणमा अनियमितता भएको कारण चुलिएको विवादकै बिच पुस्तकालयले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै गत शनिबारदेखि लगाइएको ताला बिहीबार प्रहरीले फोडेको हो ।
ज्ञानोदय पुस्तकालयका अध्यक्ष लिलबहादुर रानाले जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनमा ताला खोलिएको बताए । जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा बिहिबार ताला खोल्ने निर्देशन सहितको चिठ्ठी प्राप्त भएकोले सोही चिठ्ठीका आधारमा प्रहरीले ताला खोलेको अध्यक्ष रानाले जानकारी दिए ।
यता पुस्तकालयका सचिव विष्णु वेल्वासेले ताला खोल्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘जिल्ला प्रशासनले ताला खोल्नका लागि चिठ्ठी पठाएको बारेमा सुनेको छु, तर अहिलेसम्म कुनै आधिकारीक जानकारी पाएको छैन ।’
सचि बेल्वासेले तालाबन्दी गर्ने पक्षलाई जानकारी दिएर मात्र ताला खोल्नुपर्ने बताउँदै प्रहरीको आडमा ताला तोडिनु राम्रो पक्ष नभएको बताए । आफुहरुलाई कुनै जानकारी नदिएर नै ताला फोडिएको भन्दै असन्तुष्ट पक्षले आपत्ती जनाएको छ ।
समस्याको समाधानका लागि सर्वपक्षिय पहल गर्नुको सट्टा प्रहरी प्रशासनको आडमा जवर्जस्ती ताला तोडिनु निन्दनीय भएको उनीहरुको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्