नेपालगन्ज/ बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा जिर्ण अवस्थामा रहेका बिजुलीका पोलहरु परिवर्तन गरिएको छ । लामो समयदेखि क्याम्पस परिसरमा जिर्ण अवस्थामा रहेका काठका पोलहरुलाई हटाएर नयाँ पोलहरु गाडिएको हो ।
क्याम्पस परिसरमा जिर्ण अवस्थामा रहेका काठका पोलहरु ढलेर जतिबेला पनि दुर्घटना हुन सक्ने भन्दै विद्यार्थीहरुले विद्युत प्राधिकरणलाई ध्यानआकर्षण गराउँदै आएका थिए ।
१० वटा काठका जिर्ण पोलहरु हटाएर नयाँ पोलहरु गाडिएको अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष नवराज योगीले जानकारी दिए ।
एक महिनाअघि मात्र प्रदेश सांसद कृष्णा केसी नमुनासहितको टोलिले नेपाल विद्यूत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर जिर्ण बनेका पोलहरु विस्थापित गरेर नयाँ पोलहरु छिटो भन्दा छिटो राख्न माग गरेको थियो ।
सांसद नमुना लगायतको पहलमा क्याम्पस परिसरमा रहेका जिर्ण पोलहरु हटाएर वितरण केन्द्रले नयाँ पोलहरु गाडेको हो । क्रान्तिकारीका अध्यक्ष योगिले निरन्तरको प्रयासपछि नयाँ पोल गाडिएको भन्दै दुर्घटनाको भय अन्त्य भएको बताए ।