कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिकाका दुईवटा वडा र नरैनापुर गाउँपालिकाका २ वटा वडाहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
वडा कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । बासको सहजीकरणमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
बैजनाथ गाउँपालिका वडा नं ५ अरनिकोको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुनुवाईको अन्तमा ५ बुँदे प्रतिवद्धता व्यक्त गरिएको छ ।
व्यक्त गरिएका प्रतिबद्धताहरुमा स्थानीयहरुको मागका आधारमा कृषि क्षेत्रको समग्र बिकासका लागि योजनाबद्ध तवरले काम गर्ने, युवाहरुको स्वरोजगार विकासका साथै क्षमता अभिवृद्धि गर्ने, नागरिकहरुको गुनासो सुनुवाई गर्नका लागि सार्वजनिक सुुनुवाई नियमित आयोजना गर्ने, वडा कार्यालयले प्रदान गर्ने सेवा, सुविधालाई थप प्रभावकारी बनाउने र बिकास निर्माण लगाएतका कार्यहरु तोकिएको समय भित्रै सम्पन्न गरि असारमा हतार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने रहेका छन् ।
प्रतिबद्धताहरुमा वडाध्यक्ष मान बहादुर खत्री, गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बि.क., प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र माझि, वडा सदस्य लक्ष्मी थारु, हुकुमलि जागा, नारायण थारु र शर्मिला सुनारले हस्ताक्षर गरेकाछन् । कार्यक्रममा स्थानीयहरुले उठाएका बिभिन्न सवालहरुको जवाफ वडाध्यक्ष मान बहादुर खत्री, गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बि.क., प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र माझिले दिएका थिए । बासका कार्यकारी नमस्कार शाहले सुनुवाईको सहजीकरण गरेका थिए ।
यसैगरी वडानम्वर ६ सम्झनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुनुवाईको अन्तमा १० बुँदे प्रतिबद्धता व्यक्त भएकोछ । व्यक्त भएका प्रतिबद्धताहरुमा चैत्र मसान्त भित्र सबै बिकास निर्माणका कार्यहरु सम्पन्न गर्ने, नियमित सार्वजनिक सुनुवाई गर्ने, वडा स्तरमा रहेका संजालहरुलाई सक्रिय पार्ने, अपाङ्ग, दलित, महिलाहरुको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, लालपुरमा खेल मैदान र पुष्प बाटिका निर्माण गर्ने, विद्युतको समस्या समाधानका लागि पहल गर्ने, वडा कार्यालयमा ईन्टरनेट जडान गर्ने र सुकुम्वासीको लालपूर्जाका बारेमा समस्या समाधानका लागि पहल गर्ने र आवश्यक सूचना मालपोतसँग माग गर्ने रहेकाछन् ।
प्रतिबद्धताहरुमा वडाध्यक्ष भद्र बहादुर बस्नेत, गाउँपालिका सदस्य मेघ सुनार, वडा सदस्यहरु दयाराम थारु, पुतली सुनार, पुतली हमाल, भानुभक्त बि.सी.ले हस्ताक्षर गरेका छन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय सदस्य ध्रुवजँग शाहले स्वागत गरेका थिए ।
यसैगरी बाँकेको नरैनापुर गाउँपालिकाको वडानम्वर ५ मटेहियाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुनुवाईको अन्तमा बिभिन्न प्रतिबद्धता व्यक्त गरिएकोछ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा वडाका सबै घरधुरीहरुमा सोलार जडान गर्ने, महिला स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम बृद्धि गर्न माग गर्ने, स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने, वडामा सञ्चालित योजना सार्वजनिक सेवा प्रभावकारी बनाउने रहेका छन् । वडाध्यक्ष कृष्णचन्द्र मौर्य, स्वास्थ्य चौकीका ईञ्चार्ज प्रेम बुढा लगाएतले हस्ताक्षर गरेका छन् ।
यसैगरी वडानम्बर ६ गँगापुरको सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । सुनुवाईको अन्तमा बघौडा उज्यालो कार्यक्रम अन्र्तगत सोलार वितरण हुन बाँकी भएकाहरुलाई सोलार वितरण गर्ने, वडा स्तरबाटै लक्षित वर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग माग गर्ने, र सेवा, सुविधा प्रभावकारी बनाउने लगाएत छन् ।
कार्यक्रममा स्थानीयहरुको प्रश्नहरुको उत्तर वडाध्यक्ष बिरेन्द्रपाल सिंह, वडा सचिव प्रेम प्रसाद उपाध्याय, स्वास्थ्यचौकीका ईञ्चार्ज नविन बुढाले दिएका थिए । सुनुवाईको सहजिकरण अध्यक्ष मन भण्डारीले गरेका थिए