29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कार्यशाला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २३, २०७५  

कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँमा जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ) ऐन २०६८ का विषयमा एकदिने कार्याशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

बैजानाथ गाउँपालिकाको सहयोग तथा बैजानाथ गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजनामा गरिएको कार्यक्रममा सञ्जालका आयआर्जन समितिका संयोजक दिल विश्वकर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सञ्जालका सल्लाहकार ठगीराम परियारले संजालले आगामी वर्षकाहरुमा गरिने कार्यक्रमको ढाँचा र रुपरेखाबारे प्रस्तुति राखेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ता पदम पाण्डेयले जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ) ऐन २०६८ का विषयमा प्रष्ट पारेका थिए । पाण्डेयले छुवाछुत सम्बन्धी सजाय, क्षतिपुर्ति, प्रचलित कानुन बमोजिमको सजाय तथा उजुरी गर्ने प्रक्रियाबारे प्रष्ट पारेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै उनले सविधानमा जातिय छुवाछुत निन्दनीय भएपनि व्यवहारमा कुनै परिवर्तन नआउनु दुःखको कुरा भएको बताए । सो अवसरमा कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञास तथा प्रश्नहरुबारे अधिवक्ता पाण्डेयले जवाफ दिएका थिए ।

बैजानाथ गाउँपालिका स्तरिय दलित सञ्जालकी दलित अध्यक्ष खगीसरा सुनारको सभापतित्वमा भएको कार्यक्रममा बैजानाथ गाउँपालिका स्तरिय दलित सञ्जालका ८ वटै वडाका प्रतिनिधिहरु, मुल समितिका कोषाध्यक्ष सम्झना परियार, बैजानाथ गाउँपालिका भित्रका रहेका विद्यालयका शिक्षक, शिक्षिका, जनपतिनिधी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

बैजनाथ गाउँपालिकाको सहयोगमा सञ्जालले गाउँपालिका भित्र रहेका विपन्न दलितलाई ४१ थान सिलाई मेसिन, ५३ थान आरन सामाग्री र १ सय १० घरलाई बाख्रा वितरण गरेको छ भने १ पटक अन्तरक्रिया र १ पटक कार्यशाला गोष्ठी समेत सम्पन्न गरेको सञ्जालले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, असार २३, २०७५     7:33:16 AM  |