कोहलपुर/ बाँके राष्ट्रिय निकुञ्जले शुक्रबार पर्यटन प्रवद्र्धन तथा हात्ती सञ्चालनसम्बन्धी कोहलपुरमा अन्तक्र्रिया गरेको छ । पर्यटन प्रवद्र्धन, पर्यटक प्रवेशका लागि प्रवेशद्वार पहिचानलगायत उद्देश्य राखेर अन्तक्र्रिया गरिएको हो । अन्तक्र्रियामा सहभागीले कुसुम, सिक्टा, ओभरी, ढकेरी, खड्कवार, कोहलपुर, सुतैया र चिसापानीमा प्रवेशद्वार राख्न उपयुक्त हुने बताए ।
निकुञ्जले खड्कवार, बुच्चापुर र बुकइनालामा हात्तीसार बनाएको छ । निकुञ्जमा चारवटा हात्ती छन् । दरबन्दी १० वटा हात्तीको भए पनि ६ वटा हात्ती भने आएका छैनन् । कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले बाँके राष्ट्रिय निकुञ्जसँग सहकार्य गर्ने बताएका छन् । उनले कोहलपुर नगरपालिकाले पर्यटकीय गतिविधिलाई बढावा दिएको जानकारी गराए ।
सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरीले पर्यटकको सहजताका लागि नेचर गाइडको कार्यालय स्थापना गर्नुपर्ने बताए । कार्यक्रममा सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रेन्जर बिजु पौडेलले गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्