कोहलपुर/ विभिन्न ९ बुँदे मागहरु राख्दै कोहलपुर उद्योग वाणिज्य संघले शुक्रबार नगरपालिकालाई मागपत्र पेश गरेको छ । उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले संयूक्त रुपमा नगरपालिका प्रमुख लुट बहादुर रावतलाई कार्यकक्षमा नै भेटि मागपत्र पेश गरेका हुन् ।
विगतका दिनहरुमा नगरपालिकाबाट भएका सहयोग र बनाइएका नियमहरुबाट वाणिज्य संघलाई काम गर्न सजिलो हुनुका साथै आगामी असार १० गतेदेखि हुन लागेको नगर सभाबाट उद्योग वाणिज्य संघले पेश गरेका विषयहरुलाई पास गराई निजी क्षेत्र तथा स्थानीय सरकार विचको सम्वन्ध समधुर कायम राख्न अनुरोध गरेको मागपत्रमा उल्लेख छ ।
उक्त मागपत्रमा व्यवसायीहरुबाट उठाइएको व्यवसायिक करको २५ प्रतिशत हुन आउँने रकम संघको खातामा जम्मा गरिदिन, सुनचाँदी पसलहरुलाई २०७४÷०७५ मा लगाइएको व्यवसायिक कर बढि भएको हुँदा यस वर्षदेखि व्यवसायीहरुको व्यापार हेरी कर तोक्न, नगरपालिकाभित्र सरसफाइको उचित प्रवन्ध गर्न डम्पिङ्ग साईडको ठाउँ यथाशिघ्र व्यवस्था गरी आगामी साउनदेखि दिर्घकालीन रुपमा सोच बनाई फोहोरमैला व्यवस्थापन गरिने योजना ल्याउन, नगरको सौन्दर्यताका लागि बजार व्यवस्थित, अव्यवस्थित रुपमा राखिएका होडिङ्ग वोर्ड, छाडा पशुचौपायको उतिच प्रवन्ध गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
यस्तै नगरपालिका क्षेत्रभित्र उद्योगहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागिनिश्चित ठाउँको छनौट गरी औद्योगिक रुपमा विकास गर्न, विभिन्न वस्तुगत संघहरुलाई दोहोरो लेखा प्रणालीसम्वन्धी लेखा तालिमको व्यवस्थापनका लागि वजेट विनियोजन तथा वेरोजगार युवाहरुलाई स्वरोजगारका लागि तालिमको व्यवस्था गर्न लगायतका ९ वटा विषयमा मागपत्र पेश गरिएको छ ।
साथै संघले उक्त बुँदाहरुलाई व्यवस्थित रुपमा आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नगर सभाबाट आवश्यक वजेट विनियोजित गरिदिन अनुरोध समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्