नेपालगञ्ज/ पशु स्वास्थ्य तालिम तथा परामर्श सेवासम्बन्धी नेपालगञ्जमा मंगलबार एकदिने परिचयात्मक कार्यक्रम गरिएको छ । दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण र कार्य पद्धति सुधार परियोजनाअन्तर्गत मंगलबार बिहान अश्व प्रजातिका पशुहरू घोडा, खच्चड र गधाको अधिकारका क्षेत्रमा लक्षित कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय बाँके प्रमुख डा.बेदबहादुर केसीले यो समस्यालाई साझा मुद्दा बनाइनुपर्ने बताए । जहाँतहीँ यसको व्यवस्थापनमा समस्या रहेको भन्दै सबैको साझा समस्या नबन्दासम्म नियन्त्रण सम्भव नभएको धारणा राखे । पशु सेवा तालिम केन्द्रका पशु विकास अधिकृत खगेन्द्रराज सापकोटा, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले अश्व पशुहरुको वस्तुस्थितिसहित समन्वय गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै पशु कल्याण निर्देशिका निर्माण भएको भए पनि कार्यान्वयन हुन नसकेको र पछिल्लो समय उक्त निर्देशिकामा भएको कुराहरुको उजागर गर्न संस्थाले अहम् भूमिका निर्वाह गरेको बताए । उनीहरुले निर्देशिका कार्यान्वयन गर्न सबै एकजुट बन्नुपर्नेमा समेत जोड दिए ।
घोडा, खच्चड र गधाको उपचार, हक, निःशुल्क स्वास्थ्य उपचार सेवालगायतका विषयमा सहयोग गर्न नेपालगन्जका ८ वटा वडामा सो परियोजना लागू गरिएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा शाखा कार्यालय नेपालगन्ज परियोजनाका संयोजक भेषराज बास्तोलाले जानकारी दिए ।
घोडा खच्चर र त्यसका धनीहरुलाई लक्षित गरी ती पशुहरुको चिकित्सकीय एवम् अश्वपालकहरुलाई कल्याणकारी अश्वपालन सचेतना फैलाउने उद्देश्यले तीन वर्षीय परियोजना सुरु गरिएको बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा नेपालगन्जका प्रत्यक्षरुपमा सरोरकार राख्ने निकायका प्रमुख तथा अधिकृतहरुको सहभागिता रहेको पशु स्वास्थ्य प्राविधिक मंगलबहादुर थारुले बताए ।









प्रतिक्रिया दिनुहोस्