नेपालगन्ज,२५ जेठ/ प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हँुदैछ ।
नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भव्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले पत्रकारिताका साथै प्रजातन्त्र स्थापना र सामाजिक काममा चाचाजीले गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताए ।
यस्तै प्रेस युनियन रेडियो नेपाल शाखाका अध्यक्ष सन्तोष रेग्मीले चाचाजी पत्रकारिताको ईतिहास भएको र नेपालगन्जका लागि धरोहर भएको बताउँदै उनको नागरिक अभिनन्दनमा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।
उनले चाचाजीको नागरिक अभिनन्दनलाई भव्य बनाउन सम्पूर्ण पत्रकार, विभिन्न संस्था तथा पेशागत संघ, संगठन एवम् नेपालगन्जबासीको उल्लेख्य सहभागिता हुनुपर्ने बताए ।
युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सफल पार्न थप तिब्रताका साथ तयारीमा जुट्न युनियनका सम्पुर्ण सदस्यलाई निर्देशन दिए । अहिलेसम्म भएको तयारीबारे जानकारी दिँदै अध्यक्ष शाहले तयारीका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्