कविन्द्र परियार : कोहलपुर,६ जेठ/ बाँके राष्ट्रिय निकुञ्जमा सफारीका लागि ल्याइएका हात्तीहरुका लागि पिउने तथा आहाल बस्नाका लागि पानीको अभाव देखिएको छ ।
निकुञ्जको बुचापुर तथा खडकावार पोष्टमा रहेका हात्तीको लागि पानीको अभाव देखिएको निकुञ्जका हात्तीसार प्रमुख भग्गा थारुले बताए । ‘हात्ती पानी खेल्न मनपराउने प्राणी हो ।
तर यहाँ हात्तीका लागि सामान्य पिउने पानी मात्र छ’ उनले भने । बाँके राष्ट्रिय निकुञ्जमा बर्दिया जस्तो प्रयाप्त पानी र घाँसको व्यवस्था नभएको थारुले बताए । ‘हात्तीसार खोलाको नजिकमा हुनुपर्छ तर यहाँ झिझिरी खोला मात्र छ त्यहाँ पनि हात्तीको लागि आहाल बस्ने समेत पानी छैन’ उनले थपे ।
बाँके राष्ट्रियमा हात्तीका लागि घाँसको समेत समस्या देखिएको माउते विजय थारुले बताए । हात्तीका लागि दैनिक रूपमा खुवाउने घाँसको समेत समस्या थारुले बताए ।
‘कहिलेकाही त स्थानीयका केराका बोटहारु खुवाउनु पर्छ’ उनले भने । निकुञ्जम रहेका बुचापुर पोष्ट, चंगाइनाला पोष्ट र खड्कवार पोष्ट गरी बाँके राष्ट्रिय निकुञ्जमा दश वटा हात्तीको दरबन्दी भएपनि हाल बुचापुर हात्तीसार पोष्टमा दुई र खडकवार पोष्टमा दुई वटा गरेर चार वटा हात्तीहरु रहेका छ्न ।
एउटा हात्तीलाई दैनिक १५ किलो धान डेढ किलो भेली र २५ ग्राम नुन खुवाउन पर्ने हुन्छ । दानाको व्यवस्थापन राम्रो भएपनि हत्तीलाई दैनिक रूपमा नुहाउनु र खुवाउन पानीका लागि हात्तीसार नजिकै ट्यांकी बनाएर व्यवस्थापन गरिरहेको हात्तीसार प्रमुख थारुको भनाइ रहेको छ ।