काठमाडौं,२ जेठ/ सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको विधिवत घोषणा हुने भएको छ ।
बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार पार्टी एकता हुने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरिएको जानकारी दिनुभयो ।
दुई पार्टीबीच बेलुकासम्म एकता घोषणा हुने गरी भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले गराउनु भएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो ।
बैठकमा पार्टी एकता भोलि नै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ । पार्टी एकता घोषणाअघि दुवै दलको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति पनि गरिएको एमालेले जनाएको छ ।