सहकारीकर्मीलाई अभिमुखीकरण



रावन बिश्वकर्मा : बाँसगढी,२४ वैशाख/  बर्दियामा बचत तथा ऋण सहकारी संस्थाहरुलाई जोखिममा आधारित अभिमुखीकरण गरिएको छ ।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मूल नाराका साथ जोखिममा आधारित बचत तथा ऋण सहकारी (साकोस) सुपरिवेक्षण तथा अनुगमन अभिमुखीकरणमा सहकारीमा जोखिम न्युनिकरण कसरी गर्ने, सहकारीको व्यवसायिकता वृद्धि कसरी गर्ने, न्युन जीवनस्तर भएका सदस्यहरुको संस्थाप्रति विश्वास कसरी बढाउने, जीवनस्तर उकास्नका लागि कस्ता किसिमको कार्यक्रम ल्याउने, सहकारीले गर्ने कार्यहरु सहकारीका सिद्धान्त र मान्यता अनुसार छन कि छैन्न, सहकारीलाई जोखिममूक्त कसरी बनाउने लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका केन्द्रीय लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारीले देशको आर्थिक सम्वृद्धिको लागि बचत तथा ऋण सहकारी संस्थाबाट नै आर्थिक सम्वृद्धिको यात्रा पूरा गर्न सकिने बताए ।

उनले सहकारी मार्फत देशमा बेरोजगार युवा शक्तिलाई परिचालन गरी एक घर एक रोजगारी गर्न सकिने, स–सना पूँजीलाई एकिकृत गरी समुदायकै आर्थिक वृद्धिका लागि सहकारी मार्फत जन समुदायको जीवनस्तरमा वृद्धि गर्न सकिने, गाउँ समाजमा खेर गइरहेका स्रोत साधनलाई सहकारी मार्फत उपयोग गरी आर्थिक लाभ लिन सक्ने कुरामा जोड दिए ।

उनले बर्दिया जिल्लाका सहकारीहरुको आर्थिक उन्नति र पार्दशितासंगै अगाडि बढाउनको लागि संघले सम्पूर्ण स्रोत र साधन परिचालन गरी बर्दिया जिल्लाका सहकारीहरुको आर्थिक वृद्धि गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड फिल्ड कार्यालय नेपालगञ्जको आयोजनमा भएको अभिमूखीकरण कार्यक्रमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य तथा सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गरेका थिए ।

अभिमूखीकरण कार्यक्रममा बर्दिया जिल्लाका २२ वटा बचत तथा ऋण सहकारी सस्थाका प्रमुख तथा प्रतिनिधि गरी ५० जनाको उपस्थिति रहको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २४ गते सोमबार