बाँकेका १० कार्यालयका प्रमुख बने १० बालबालिकाका अभिभावक



नेपालगन्ज,१२ बैशाख/ बाँकेका कार्यालय प्रमुखहरुले खजुरा गाउँपालिकाका १० जना बालबालिकाकाको बुधवार अभिभावकत्व ग्रहण गरेका छन् । जिल्लामा रहेका १० वटा कार्यालयका प्रमखहरुले एक कार्यक्रमकाबीच खजुरा गाउँपालिका वडा नम्वर ६ पुरैनामा रहेको जनसेवा माविका १–१ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।

बाँकेका प्रमख जिल्ला अधिकारी रमेश कुमार केसीले कक्षा ९ का बलबहादुर सुनारको अभिभाकत्व ग्रहण गरे । त्यसैगरी महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले कक्षा १० मा अध्ययनरत लक्ष्मी सुनारको, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जमा क्षेत्रिय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले कक्षा ७ का कमल रावलको, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय बाँकेका निमित्त प्रमुख गोर्खबहादुर थापाले कक्षा ८ का अस्मिता कुवरको अभिभाव बनेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले कक्षा ८ का ऋतु बुढाको, शशस्त्र प्रहरीका एसपी फणिन्द्र पौडेलले कक्षा ९ का सुवास राना क्षेत्रीको, भैरवनाथ गणका गणपति सुर्य थापाले कक्षा २ का हरि घर्ति र शैक्षिक तालिम केन्द्र नेपालगन्जका प्रमुख रामलाल खड्काले कक्षा ८ का अंगराज बमको अभिभावकत्व ग्रहण गरे ।

यस्तै, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले कक्षा ६ कि लक्ष्मि सार्कीको र प्रमुख कोष नियन्त्रक ठाकुर प्रसाद पौडेलले तीलसरा सुनारको अभिभावकत्व ग्रहण गरेका विद्यालयका प्रधानाध्यापक शोभाकुमारी रेग्मीले जानकारी दिइन् ।

बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरिएको हो । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आर्थिक रुपले विपन्न र अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरि सकारात्मक शन्देश दिने प्रयास गरिएको बताए । कार्यालय प्रमुखहरुले आफ्ना–आफ्ना छरछिमेकका बालबालिकालाई विद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने काममा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार