नेपालगन्ज,१३ वैशाख/ नेपालगन्ज उपमहानगरपालिका वडा नं.१३ उदयपुरमा बालबालिकाहरुको आकस्मिक उद्धार तथा राहतका लागि बाल राहत कोषको स्थापना गरिएको छ ।
वडा भित्रका जोखिम तथा हिंसामा पर्न सक्ने बालबालिकाहरुको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत बाल राहत कोषको स्थापना गरिएको हो ।
सेभ द चिल्ड्रेनको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा रु २५ हजार रुपैयाँ र वडा कार्यालयबाट ५ हजार रुपैयाँ गरी जम्मा ३० हजारको कोष स्थापना गरिएको वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिए ।
बाँके युनेस्को क्लबका निर्देशक रवि कुमार तुलाधार र कार्यक्रम संयोजक आशिष वर्माले एक कार्यक्रममा वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहलाई रु २५ हजारको चेक हस्तान्तरण गरी कोषको स्थापना गरिएको जानकारी दिए ।
बालबालिकाहरुको आकस्मिक उद्धारका लागि स्थापना गरिएको कोषको सञ्चालनका लागि बालबालिका राहत कोष सञ्चालन कार्यविधी २०७५ जारी गरी सञ्चालनका लागि वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहको संयोकत्वमा ९ सदस्यीय सञ्चालन समिति पनि गठन गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य सत्य नारायण यादव, ओम प्रकाश चौहान, वडा सचिव रामकुमार पौडेल, बालक्लब सञ्जालका अध्यक्ष गणेश कुमार पाण्डे लगायतले बालबालिकाको संरक्षण लगायत चौतर्फी विकासका लागि नेपालगन्जलाई बालमैत्री स्थानीय शासन घोषणा गराउनु अपरिहार्य रहेको बताए ।
यसअघि पनि बाँके युनेस्को क्लबले वडा नम्बर १२ मा पनि सोही प्रकारको बाल राहत कोषको स्थापना गरी २५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्