रावन बिश्वकर्मा : बाँसगढी,१२ वैशाख/ बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
प्रमुख अधिकारीले मंगलबार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीमा कक्षा–६ मा अध्ययनरत बालिका टिका शर्माको अभिभावकत्व ग्रहण गरेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीका प्रधानाध्यापक निराजन चापागाँईले बताए ।
अभिभावकत्व ग्रहण गर्दै नगर प्रमुख अधिकारीले राष्ट्रिय भर्ना अभियानमा सबै जोडिनुपर्छ भन्ने विभिन्न क्षेत्रबाट कुरा उठिरहेको सन्दर्भमा कुनै अनाथ बालबालिकाहरुलाई आफ्नो सामान्य सहयोगले पढ्ने वातावरण सृजना गर्न सकिन्छ भने आफूले पनि एक बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने मनसायले कक्षा–६ मा भर्ना गरेर टिका शर्माको संरक्षकको रुपमा अविभावको भूमिका निर्वाह गर्ने गरी अभिभाकत्व ग्रहण गरेको बताए ।
उनले भने–‘नगर प्रमुख भएकाले बाँसगढी नगरपालिकाका सबै बालबालिकाहरुको शिक्षा पाउँने नैसर्गिक अधिकार पूर्ण गराउन नगरपालिकाको दायित्व भएपनि व्यक्तिगत जिम्मेवारी पनि पूरा गर्नु पर्छ भन्ने उदेश्यले व्यक्तिगत रुपमा बालिकाको नेरा माविमा १० कक्षा पढ्दासम्म सबै सहयोग गर्ने गरी अभिभावकको भूमिका निर्वाह गरेको हुँ ।’
बाँसगढी नगरपालिकामा कुनै पनि बालबालिका आर्थिक अभावले शिक्षाबाट बञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै गहन रुपमा छलफल चलाएको र त्यहि अनुसार योजना बनाएर अगाडि बढ्ने उनको भनाइ थियो । बाँसगढी नगरपालिका वडा नं.६ बस्ने टीका शर्माका बाबु बेपत्ता रहेका छन् ।