रावन बिश्वकर्मा : बर्दिया,८ वैशाख/ देशभर जारी विद्यार्थी भर्ना अभियान २०७५ अन्तर्गत बाँसगढी नगरपालिका–८ का वडा अध्यक्ष र सदस्यले १÷१ जना विद्यार्थीको अविभावकत्व ग्रहण गरेका छन् ।
वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले सोही वडाको रेशमपुरका चन्दबहादुर थारुकी छोरी मालती थारुको अभिभावकत्व ग्रहण गर्दै पुर्णहिरा मावि लक्ष्मणामा कक्षा ५ मा भर्ना गराए ।
वडा अध्यक्ष गौतमले मालतीको पुर्णहिरा माविमा अध्ययन गर्दासम्मको सबै खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । उनको छोरी नभएकाले मालतीलाई छोरीको रुपमा स्वीकार गरी अभिभावकत्व निर्भाह गर्ने बताए ।
मालतीको परिवार अत्यन्तै विपन्न भएकाले मालतीले विद्यालय छोड्ने अवस्था भएकाले गौतमले अभिभावकत्व ग्रहण गरेको विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीले बताए । त्यस्तै वडा नम्बर ८ का वडा सदस्य प्रकाश पंगेनीले पनि लक्ष्मणा बिच गाँउका हेमराज थारुलाई कक्षा ६ मा भर्ना गर्दै अविभावकत्व ग्रहण गरेका छन् ।
हेमराजका बुवा खुसीराम थारु आँखा नदेख्ने र आमा अस्तुरिया थारु अपाङ्ग भएकाले हेमराज विद्यालय छोड्ने अवस्थामा रहेकाले वडा सदस्य पंगेनीले अभिभावकत्व ग्रहण गरेका हुन् ।
शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी दुई जनाले १÷१ जना विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक बाहेक लाग्ने सबै खर्च बेहोर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयमा भर्ना गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्