कोहलपुर,४ बैशाख/ जिल्ला वन कार्यालय बाँकेले जनप्रतिनिधिसँग संरक्षण अन्तरक्रिया गरेको छ । बाँके राष्ट्रिय निकुञ्जद्वारा आयोजित सप्ताहको तेस्रोदिन जिल्ला वन कार्यालयले अन्तरक्रिया गरेको हो ।
बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले पर्यापर्यटनका गतिविधि बढाउने बताएका छन् । ‘चोरी सिकार नियन्त्रणका योजना बनाउनेछौं,’ उनले भने, ‘प्राकृतिक स्रोतलाई व्यवस्थित उपयोग गर्दै स्थानीयको आयआर्जन बढाउन लाग्नुपर्ने देखिन्छ ।’
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले चोरी तस्करी नियत्रन्त्रणका लागि सामुदायिक वनलाई जिम्मेवार बनाइने बताएका छन् । उनले गाउँपालिकाको तर्फबाट गरिने नीति निर्माण व्यवहारिक बनाइने बताए ।
साथै केन्द्र सरकारले वनको कानुनी प्रक्रिया सहज बनाउनुपर्ने बताए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले निकुञ्ज र वनको सहकार्यमा चोरी तस्करी नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । उनले चोरी सिकार नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रका युवा परिचालन गरेको बताए ।
बाँकेका जिल्ला वन अधिकृत ईश्वरीप्रसाद पौडेलले वन्यजन्तु वासस्थान व्यवस्थापन, वन्यजन्तुको चोरी सिकारी, जनचेतनाको कमी, प्रचारप्रसारको कमीलगायत चुनौती देखिएको बताए । चोरी सिकार नियन्त्रणमा स्थानीय समुदायको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्