बर्दिया,४ बैशाख/ बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका पानीको मूल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या हुने गरेको छ । तराईमा दिनहुँ तापक्रम वृद्धि भइरहेकाले निकुञ्जभित्र पानीको मूल सुक्न थालेको हो ।
हात्तीलाई तर्न हम्मे पर्ने सौराहा खोलामा समेत पानी सुकेको प्रकृतिपथ प्रदर्शक अनुराम चौधरीले बताए । ‘तीनकुने, लालमाटी, हात्ती तथा गैंडा मचानमा रहेका खोला पनि सुकेका छन्’, उनले भने, ‘हात्ती, गैंडा, बाघ गर्मीको समयमा पानीमा आहाल बस्ने गर्छन् तर निकुञ्जभित्र पानीको स्रोत सुकेपछि वन्यजन्तुको दिनचर्या फेरिएको छ ।’ पर्याप्त पानी नहुँदा वन्यजन्तु तनावमा हुने गरेको चौधरीको भनाइ छ ।
पर्याप्त पानी नपाएर जनावर तनावमा परी भौंतारिने गरेका छन् । अधिकांश ठूला जनावरलाई पिउने पानीको अभाव छ । हात्तीलाई नुहाउन पानी छैन । गैंडालाई घोलमा आहाल बस्नुपर्छ तर घोल सुकेका छन् । जलचरलाई पनि उत्तिकै समस्या छ । गोही त विस्थापित नै भइसकेका छन् । बाघ पानीमा बस्न रुचाउँछ तर पानी नहुँदा समस्यामा परेकोे छ । निकुञ्जभित्र पानी अभावले छरिएर बसेका वन्यजन्तु साँघुरिन थालेका छन् ।
पानी सुक्ने क्रम बढेपछि जलचर, उभयचरलगायत पक्षी प्रजातिसमेत विस्थापित हुन थालेको छ । एकातिर बढ्दो गर्मीले पानीको मुहान सुक्ने क्रम बढ्दै छ भने अर्को्तिर पुल, सडक, नहर आदि निर्माण कार्यले पनि पानीको मुहान बन्द भएको स्थानीय पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराई बताउँछन् ।
‘पर्यटक लिएर निकुञ्जभित्र जाँदा जनावर पानी अभावका कारण भौंतारिरहेको देखिन्छन्’, उनले भने, ‘गाउँघरतिर धारामा समेत पानी सुक्न थालेपछि स्थानीयलाई पनि समस्या हुन थालेको छ ।’निकुञ्जभित्र पानीको अभाव रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए ।
‘हामीले घोलमा पानी पुर्याउन सोलार पम्प प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘कृत्रिम रूपमा केही समस्या समाधान प्रयास भए पनि पानीको माग अपर्याप्त भएकाले समस्या छ ।’








प्रतिक्रिया दिनुहोस्