29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

दुई करोड नदिए बमले उडाइदिने भन्दै धम्कीदिने ४ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४  

काठमाडौं,२९ चैत/  दुई करोड रुपैयाँ माग गर्दै नदिएमा ज्यान मार्ने धम्की दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थायी घर गोरखा भएका जग्गा व्यवसायी हरिप्रसाद सापकोटा (नाम परिवर्तन) र अन्य व्यवसायीलाई फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता हौं भनेर २ करोड रुपैयाँ माग गर्ने र नदिएमा बमले उडाइदिने भन्दै धम्क्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीहरुलाई भारतीय नम्बरबाट पनि फोन गरेर २ करोड नदिए बमले उडाइदिने भन्दै धम्की दिने मूख्य योजनाकारसहित ४ जानलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चैत २८ गते पक्राउ गरेको हो । व्यवसायीलाई धम्की दिएर पैसा माग्ने समूहका मुख्य योजनाकार गोरखा जिल्लाका ४० वर्षका चेतबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यवसायीलाई धम्क्याएको आरोपमा गोरखा जिल्लाकै २८ वर्षका व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई पक्राउ गरेको छ ।

व्यवसायीलाई नयाँ दिल्ली पुगेर भारतीय नम्बरबाट फोन गरेर तर्साउने वीरबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । उनी पेट्रोल पम्पमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।-ujyaaloonline

प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४     8:12:54 PM  |