थारु कला संस्कृतिको संरक्षणमा जुट्दै कलाकार



कृष्ण चौधरी : कोहलपुर,२२ चैत/  थारु वस्तीको कला संस्कृतिको संरक्षणका मुख्य अभियन्ताका रुपमा चिनिने थारु कलाकारहरु बाँके जिल्लामा दिन प्रतिदिन बढिरहेका छन् ।

बाँके जिल्लामा थारु कला सम्बन्धि विभिन्न विधामा पोख्त झण्डै ५० जना कलाकार रहेको राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य खेम भौगरियाले बताए ।

भौगरियाका अनुसार थारु कलाकारिता क्षेत्रमा थारु युवाहरुको सहभागिता बढिरहेको छ । कलाकारिताको माध्यमबाट थारु समुदायको पूर्ण चित्रण गर्न सकिन्छ । कलाकारिताकै माध्यमबाट समुदायमा सामाजिक, साँस्कृतिक विकास गर्न सकिने भोगरियाको बुझाइछ ।

गायनसँगै मोडलिङ क्षेत्रमा समेत थारु युवाहरुको सहभागिता बढिरहेको राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य मोडल सुनिता दहितले बताइन् । कालकारहरुको मोडलिङ एउटा विधा भएकाले यस विधाको माध्यमबाट समाजलाई परिवर्तन गर्न सकिने दहितको पनि बुझाई छ ।

थारु समुदायको भेषभुषा गरगहनाहरु लोभ हुँदै गइरहेको बेला थारु समुदायको अति सुन्दर भेषभुषा गरगहनाहरु संरक्षण गर्दै प्रवद्र्धन गर्नमा थारु मोडलहरुको महत्वपूर्ण भूमिका रहेको दहितको बुझाई छ ।

थारु समुदायमा परम्परागत शिप, मौलिक कला, संस्कृति संरक्षण गर्न चुनौतीपूर्ण अवस्था रहेको बेला थारु युवाहरु कलाकारिता क्षेत्रलाई आफ्नो पेशा बनाउँदै थारु पहिचान स्थापीत गर्न सफल भएको राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय अध्यक्ष विनय बैध्यको बुझाई छ ।

थारु बाहुल क्षेत्रमा थारु कलाकारहरुको संगठन विस्तार गर्दै, थारु कलाकारहरुको संख्यात्मक तथा गुणात्मक बृद्धि गर्न संघ क्रियाशिल रहेको बताए । अध्यक्ष थारुले भने  “कलाकार समाजको ऐना जस्तै भएकाले स्थानीय सरकार, प्रादेशिक तथा केन्द्रिय स्तरबाट कलाकारिता क्षेत्रमा आवद्ध युवाहरुलाई प्रोत्साहन गरिनु पर्छ ।”

दर्जन बढी चलचित्रमा मोडलिङ गरेका मोडल जगन्नाथ चौधरी (जगत गुरु) का अनुसार थारु संस्कृतिको विश्व विद्यालय थारु समुदाय नै भएकाले कालाकारहरु यसका मुख्य पात्र हुन् ।

कालकारहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनु पर्छ । कालकार समाजका सम्मानित पात्र हुन् । माडेल अञ्जली चौधरीले लोप हुने अवस्थामा पुगेको भेषभुषा, गहनाहरु प्रयोग गरी मोडलिङ गर्दा थारु समुदायका युवाहरु थारु भेषभुषा, गहनाहरुको संरक्षणमा सचेत हुन थालेका छन् ।

थारु युवाहरुले थारु समुदायमा आधारित संस्कार संस्कृतिको अनुसरण गरेको देख्दा मोडेल चौधरी खुशी हुने गरेको बताउँछिन् । कोहलपुर बजार क्षेत्रमा ॐ साईबाबा कलाकेन्द्र स्थापना गरी सोहनलाल चौधरीले कालाकारिता सिकाउँदै आएका छन् ।

उनी म्युजिक भिडियो निर्माणमा दक्षता राख्दछन् । चौधरीका अनुसार केन्द्रमा थारु युवाहरु सहभागिता पनि उल्लेख्य रहेको बताए । थारु फिल्म बनदिदी, प्रेमके बस्ती लगाएत २ दर्जन बढी थारु म्यूजिक भिडियो निर्माण गर्न सफल भएका कलाकार विश्वसार परियारले थारु समुदाय भित्र संस्कृतिको भण्डार छ ।

थारु फिल्म, म्यूजिक भिडियो बनाउँदा थारु संस्कृतिसँग नजिक हुन पाएको बताए । थारु समुदायको कला सस्कृति आकर्षक भएकाले दर्सक तथा स्रोताहरुले माया गरेको उनको भनाई छ ।

साथै बाँके जिल्लामा रहेका थारु कलाकारितामा आवद्ध कलाकारहरुले राष्ट्रिय थारु कलाकार संघको जिल्ला शाखा गठन गर्ने राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य खेम भौगरियाले बताए ।

छरिएर रहेका कलाकारहरुलाई एकै ठाउँमा राखेर कलाकारहरुलाई एकजुट गराउन आवश्यक रहेको हुँदा संघको शाखा गठन गर्ने तयारी भइरहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २२ गते बिहीबार