8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १०, २०७४  

काठमाडौं,१० चैत/  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट पाल्पा–काठमाडौं संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुनेगरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।

मन्त्री पुनले भने–‘यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणअगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनेगरी काम भइरहेको छ ।’

संविधान जारी भइ कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र साँस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्वसभासदद्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।

बैठकले घनश्याम बस्यालको नेतृत्वमा ३५ सदस्यीय मञ्चको नयाँ कार्यसमिति र पूर्वसांसद तुलसा रानामगरको नेतृत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । -रासस

प्रकाशित मितिः शनिबार, चैत्र १०, २०७४     8:11:50 PM  |