1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

शैक्षिक सुधारका लागि नरैनापुर गाउँपालिकाको पहलकदमी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४  

कोहलपुर,३ चैत/  बाँकेको विकट नरैनापुर गाउँपालिकामा शैक्षिक स्तर सुधारका लागि निरन्तर छलफल, अन्तरक्रिया र बहस हुन थालेको छ । स्थानीय तहको अस्तित्वसंगै जनप्रतिनिधि चुनिएर आएपछि शिक्षालाई विकासको मुख्य अस्त्र ठान्दै गाउँपालिकाले तीब्र पहलकदमी लिएको जनाएको छ ।
बघौडाको विकासको आधार नै शिक्षा भएकाले शैक्षिक स्तर सुधारका लागि निर्वाचित भएर आएदेखि नै आफू गम्भीर भएर लागेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।

अढाई महिनाअघि बघौडा क्षेत्रका सबै ४४ सामुदायिक विद्यालय र मदरसाका प्रधानाध्यापक र प्रतिनिधिहरुसंग शिक्षाको सुधारका विषयमा गहिरो छलफल गर्नुभएका अध्यक्ष शाहले फेरि उनीहरुसंग अन्तरक्रिया गर्नुभएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग र बाँके युनेस्को क्लबको संयोजनमा नरैनापुरका सबै ४४ वटा सामुदायकि विद्यालय र मदरसालाई शैक्षिक सामग्री वितरण गर्न गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उपस्थित विद्यालय र मदरसाका प्रधानाध्यापकहरुलाई अध्यक्ष शाहले भन्नुभयो, ‘शिक्षा नै नरैनापुरको विकासको मुख्य आधार हो, सुनको पर्खाल नै उठाइदिए पनि शिक्षा नभए समाजको विकास र समृद्धि सम्भब छैन, त्यसैले तपाईंहरु गम्भीर भएर बालबालिकाको भविष्यका लागि लाग्नुस्, केही अप्ठेरो भए मलाई भन्नुस्, म समाधान गर्छु ।’

पहिलेभन्दा शिक्षाको ग्राफ केही बढेको भए पनि शिक्षाको अवस्था अत्यन्त नाजुक भएकाले सबै मिलेर यसको सुधारका लागि परिश्रम गर्न जरुरी रहेको उहाँको भनाई छ । ‘यहाँको शिक्षाको लागि म सबै बजेट खन्याउन तयार छु, शिक्षक नभएका ठाउँमा शिक्षकको व्यवस्था गर्न तयार छु, भौतिक पूर्वाधार निर्माणका लागि म सक्दो गर्छु तर तपाईंहरुले कम्तिमा विद्यालयसम्म पुग्ने बालबालिकाको भविष्य सोचिदिनुस्,’ अध्यक्ष शाहले भन्नुभयो ।

विद्यालयहरुको निरन्तर अनुगमन गरिने पनि उहाँले बताउनुभयो । अध्यक्ष शाहले शिक्षा नियमावली तथा विद्यालयको नीति, नियमअनुसार काम नगर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो । यस्तै चेतावनी उहाँले अढाई महिना अघि पनि दिनुभएको थियो ।

जयकिसान मावि गंगापुरका प्रधानाध्यापक लक्ष्मण तिवारीले शिक्षक नहुँदा पठनपाठनमा निकै अप्ठेरो भइरहेको गुनासो गर्नुभयो । ‘माविमा १ दरबन्दी र १ राहत गरी २ जना शिक्षक छन्, निमाविमा ३ जना मात्रै छन्, विषयगत शिक्षकको अभाव छ, पठनपाठनमा निकै समस्या झेलिरहेका छौं, तिवारीले भन्नुभयो । विद्यार्थी संख्या अनुसार शिक्षक नहुँदा पठनपाठन गर्न समस्या भइरहेको उहाँले बताउनु भयो ।

महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेसकार सिंहले सामुदायिक विद्यालय र मदरसा बीच कोर्डिनेशन नहुँदा पनि समस्या भएको बताउनुभयो । ‘एउटै विद्यार्थी बर्षौं बर्ष मदरसामा पढिरहन्छ तर त्यही विद्यार्थीलाई थप अध्ययनका लागि सामुदायिक विद्यालयमा पठाइँदैन,’ सिंहले भन्नुभयो । जमुनीस्थित मदरसा गौसिया अहलेसुन्नतका प्रधानाध्यापक फारुक खाँले आर्थिक अभावका कारण मदरसा सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो ।

कार्यक्रममा ४४ वटा विद्यालय र मदरसालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । प्रत्येक विद्यालयलाई १० हजार मूल्य बराबरका ३३ प्रकारका सामग्री वितरण गरिएको हो । वितरण गरिएका सामग्री विद्यार्थीको बृत्ति विकासका लागि सदुपयोग गर्न गाउँपालिका अध्यक्ष शाहले आग्रह गर्नुभयो । विद्यार्थीलाई विद्यालयमा रमाउने वातावरण बनाउनका लागि ती सामग्री उपयोगी हुने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

यसैबीच अध्यक्ष शाहले नरैनापुर ६ जमुनीस्थत मदरसा गौसिया अहलेसुन्नतको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । ७५ जना विद्यार्थी रहेको त्यस मदरसा २०६४ सालमा स्थापना भएपनि छाप्रोमा सञ्चालन हुँदै आएको थियो । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४     7:13:36 AM  |