कैलाली,१ चैत/ कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनगढीले आज बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै खोजी र अनुसन्धान भइरहेको जानकारी दिए ।
उनीहरुलाई मेयर चौधरीलाई गत फागुन २८ गते राति खुकुरी र गोली हानेको आरोप छ । टाउकोमा खुकुरी र कम्मर मुनिको भागमा गोली लागेर घाइते भएका चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।