खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



नेपालगञ्ज,१ चैत/ बाँकेको खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना र बासको सहजीकरणमा गाउँपालिकाको वडानम्बर २ को सितापुरमा सार्वजनिक सुुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित स्थानीयहरुले जनप्रतिनिधिहरुसँग विकास निर्माण, लक्षित वर्ग उत्थान, गाउँपालिकाको सेवा, सुविधा लगाएतका विषयमा दर्जनौं प्रश्नहरु सोधेका थिए ।

प्रश्नहरुको उत्तर गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, वडा नम्बर २ का वडााध्यक्ष देबिलाल शर्मा लगायतका वडाध्यक्ष विषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाले प्रदान गर्ने सेवा, सुविधाबारे गरिएको बर्हिगमन अभिमत संकलनको प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रमको अन्तमा ७ बुँदे साझा सार्वजनिक प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।

व्यक्त गरिएका प्रतिवद्धताहरुमा छाडा पशुचौपाय व्यवस्थापन गर्ने, लागु औषध विरुद्ध सचेतनामूलक र नियन्त्रणमूलक कार्य गर्ने, गाउँपालिकाको सेवा, सुविधा प्रभावकारी बनाउने, आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा सबै वर्ग, क्षेत्र समेट्ने गरी प्रभावकारी ढङ्गले गर्ने, खुला सिमानाबाट भइरहेको अबैध कार्य नियन्त्रण गर्न सबै सरोकारवालाहरुसँग समन्वय गरी पहल गर्ने र युवा स्वरोजगारका लागि सामुहिक रुपमा प्रस्तावना पेश गर्ने रहेका छन् ।

सो कार्यक्रममा २०० बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १ गते बिहीबार