1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बागेश्वरी मन्दिरको दशकौं पुरानो बाकस खोलियो,के रहेछ त ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १, २०७४  

नेपालगञ्ज,१ चैत/  दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ ।

खोलिएका दुई बाकस मध्ये एउटामा रसिदका ठेली र अर्को बाकसमा चाँदीका गरगहना र सुनको तिलहरी भेटिएको हो ।दशकांैदिेखि मालपोत कार्यालय बाँकेमा अलपत्र अवस्थामा रहेका बाकस खोलिएपछि सर्वसाधारणको कौतुहलता मेटिएको छ ।

बाहिर राखिएको ठुलो बाकसमा मालपोत कार्यालयका कागजका ठेली र भित्र रहेको बाकसमा नगन्य मात्रामा सुन र चाँदीका मुर्ति, भाँडा लगायतका सामाग्री भेटिएको बागेश्वरी गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।

बाकसमा भएका सबै सुन तथा चाँदीहरु बागेश्वरी गुठी व्यवस्थापन समितिको अधिनमा लिएर नेपाल बैंकको लकरमा राखिने उनले जानकारी दिए ।

सो बाकस दशकौं पुरानो भएको दाबी गरिएपनि बासकमा भेटिएका गहना नयाँ (टल्केका)ले धेरै पुरानो मान्न सक्ने अवस्था नरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसअघि बाकसमा के र कति सम्पत्ति छ भन्ने कसैले पनि बताउन सकेका थिएनन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र १, २०७४     7:09:45 AM  |