नेपालगञ्ज,३० फागुन/ कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरी माथि कथित बोक्सिको आरोपमा भएको निर्घात कुटपिट विरुद्ध नेपालगञ्जमा विरोध सभा गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था बासले विभिन्न संघ संस्था तथा युवाहरुको सहभागितामा नेपालगञ्जको बि.पि. चौकमा उक्त विरोध सभा गरेको हो ।
यही फागुन २४ गते राधालाई स्थानीय झाँक्री रामबहादुर चौधरीसहितका व्यक्तिहरुले निर्घात कुटपिट गरेको विरोध गर्दै विभिन्न नारा लेखिएको प्लेकार्ड सहित सहभागीहरुले दोषिलाई कारवाहिको माग गरेका थिए ।
विरोध सभामा गैर सरकारी संस्था महाँसंघ बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, ईन्प्रोक बाँकेका अध्यक्ष तेज बिक्रम शाह, एन्फा बाँकेका सचिव जनक भण्डारी, दलित महिला संघ (फेडो) की अध्यक्ष निर्मला सुनार लगाएतले घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कार्वाही हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले घटनामा संलग्न दोषीहरुलाई कुनैपनि हालतमा छोड्न नहुने बताउदै घाइते राधालाई उचित क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेका थिए ।