20 June 2024  |   बिहिबार, असार ७, २०८१

विश्वकप क्रिकेट छनोटमा स्कटल्याडसँग नेपाल ४ विकेटले पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४  

काठमाडौं,२५ फागुन/  विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २-२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यस्तै दोस्रो ओभरको दोस्रो बलमा दिलिप नाथलाई नेपाललाई गुमायो । आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो ।

नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको नाजुक स्थितिलाई अघि बढाएका थिए ।

रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाए । त्यस्तै सोमपाल कामीले ५४ बलमा १८ रन बनाए । वसन्त रेग्मीले नटआउट रहँदै २४ रन को योगदान दिए पनि नेपालका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि स्टुवार्ट ह्विटिंघमले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सफ्यान शरिफ अलास्दैर इभान्सले २–२ र टम सोले, तथा रिची बेरिंगटनले समान एक–एक विकेट लिए ।

विकेट पतन –स्कटल्याण्ड
१–३३(म्याथ्यु क्रस, ९.३), २–७१(सीएस म्याकलियोड, १८.२), ३–७२(रिची बेरिंगटन, १९.३), ४–८७(जर्ज मुन्से, २२.२), ५–११५(क्रेग वालेस, ३२.५), ६–१२२(मार्क वाट, ३५.३)

विकेट पतन -नेपाल
१–१ (ज्ञानेन्द्र मल्ल, १.१), २–२ (दिलिप नाथ, २.२), ३–१४(दिपेन्द्रसिंह ऐरी, ४.१), ४–१४(शरद भेषावकर, ७.६), ५–३९(आरिफ शेख, ७.६), ६–८१(सोमपाल कामी, २४.१), ७–१००(पारस खड्का, २८.१), ८–११७(रोहित कुमार पौडेल, ३४.४), ९–१४३(सन्दीप लामिछाने, ४५.२), १०–१४९(ललित राजवंशी, ४७.४)

आइसीसी विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएपछि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै कठिन बनेको छ । लगातार तीन खेलमा जित निकालेको स्कटल्याण्ड सुपरसिक्समा पुगेको छ । अब नेपालले शनिबार हङकङसँग खेल्नेछ ।

-ujyaaloonline.com

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४     7:28:01 AM  |