नेपालगञ्ज,२३ फागुन/ बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । गाउँपालिकाको वडा नं.१ होलियाबाट मंगलबारदेखि घर नंम्बर कायम गरी नम्बर प्लेट टाँस्न शुरु गरिएको हो ।
स्थानीय प्रेमा वर्माको घरबाट सो अभियान शुरु गरिएको हो । अभियानको मंगलबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष पप्पु चौधरीले शुभारम्भ गर्दै यसबाट गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भई अधिकारिक हुने बताए । साथै हरेक सेवासुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा सहयोग पुग्ने उनको भनाई छ ।
शुभारम्भ कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सचिव देवीलाल चौलागाई लगायतको उपस्थितिमा मंगलबारदेखि नै घरधुरी सर्भेक्षणको काम समेत शुरु गरिएको छ । गाउँपालिकाको पञ्चवर्षिय आवधिक योजना निमार्ण तथा प्रोफाईल तयार गर्नका लागि घरधुरी सर्भेक्षण थालिएको हो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाल तथा मातृ मृत्युदर, बाढी प्रकोपको अवस्थाका विषयमा पहिचान गरी सोही अनुरुप योजना तयार गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए ।
उहाँका अनुसार होलियाबाट शुरु भएको सर्भेक्षणको कार्य गाउँपालिकाको ६ वटै वडामा गरिनेछ । होलियाबाट शुरु भएको सर्भेक्षणको कार्य (आज) बुधबारदेखि अन्य वडामा पनि तथ्यांक संकलन गरिने छ । सो सर्भेक्षणका लागि ६० जना तथ्याक संकलनकर्ता परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्