अव्यवस्थित फोहोरका कारण टोल नै दुर्गन्धित



नेपालगन्ज,१८ फागुन/  नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ भित्र रहेको चिडीमार टोलमा अव्यवस्थित फोहरका कारण त्यहाँका स्थानीयहरु मर्कामा परेका छन् । वडा नं.१२ ले नगरकै पहिलो बालमैत्री वडा घोषणा गर्ने कदम चालेपनि फोहोर व्यवस्थापनमा भने वडा कार्यालयको ध्यान जान नसकेको स्थानीयको गुनासो रहेको छ ।

अरु ठाँउमा विकासका केही कामहरु अघि बढेता पनि उक्त टोलको फोहर व्यवस्थापनमा भने कसैको चासो नभएको हो । फोहरबाट निस्किएको दुर्गन्धले गर्दा बाटोमा हिड्न समेत नसकिने विगत एक वर्षदेखि भाडामा बस्दै आउनुभएकी ज्योती बस्यालले बताइन् ।

उक्त दुर्गन्धले स्थानीयहरुको स्वास्थ्यमा नै चुनौती दिएको छ । सफा गरेर बाटोमा थुपारिएको फोहरहरु यत्रतत्र हुँदा गाँउ नै कुरुप भएको छ । बाटोमा थुपारिएको फोहर उठाउन पनि कहिलेकाहि मात्र आउने हुँदा झनै समस्या भएको स्थानीयको गुनासो रहेको छ । स्थानीयलाई सम्बन्धित निकायलाई किन जानकारी नगराएको भन्ने प्रश्नमा गाँउका ठुलाबडाले चासो नदिने र पहुँच नभएका मानिसको सुनुवाई नहुने जस्ता जानकारी प्राप्त भएको छ ।

वडा कार्यालयद्वारा डस्टविनको ब्यवस्था भएपनि फोहरहरु यत्रतत्र नहुने र दुर्गन्धबाट केही हदसम्म टाढा रहन सकिने स्थानीयले बताएका छन् । त्यस्तै ढल बग्न बनाइएको नालीबाट निकालिएको फोहर लाई पनि लापरवाहीका साथ बाटोमा नै छाडिदिदा आफुहरुलाई बस्न समेत गारो परिरहेको स्थानीयको भनाई रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार