बाजुरा,२८ माघ/ बाजुरा जिल्लामा बनाइने डोकाको बिक्री हुम्ला जिल्लामा हुने गर्छ । अछामे डोकोको नामले परिचित यी डोकाहरु बाजुरा जिल्लाको ढम्कने गाउँमा बुन्ने गरिन्छ ।
हुम्लाका स्थानीयहरुले हाटबजार जाने बेलमा डोकोमा सामान बोकेर जाने गर्दछन् । पहिला पहिला यहाँका स्थानीय घर बाहिर जाँदा आफूलाई चाहिने सामान लत्ताकपडा, भाँडालगायतका सामग्री बोक्नसम्म डोकोको प्रयोग गरिन्थ्यो । तर अहिले यसको प्रयोगमा भने कमी आएको छ ।
डोको बेच्नका लागि बाजुराको ढम्कने गाउँबाट माथिल्लो हुम्ला पुगेका कुफा फेडारी भन्नुहुन्छ ‘तीन जनाको समूहमा ७ दिनदेखि डोको बेच्दै हिँडेका छौँ ।’ बर्सेनी डोको बेच्न यहाँसम्म आउने गरेको उहाँले जानकारी दिनुभयो ।
एक पटकमा २४ वटा डोको बोकेर हुम्लाका गाउँमा बिक्री गरेको उहाँले बताउनुभयो । बाजुरमा २ सय ५० रुपैयाँ मूल्यमा किनेको डोका हुम्लाका गाउँमा १२ सय रुपैयाँमा बिक्री हुने फडेराले जानकारी दिनुभयो ।
हिउँदको समयमा व्यापारको रुपमा प्रयोग गरिने डोको हुम्लाका गाउँमा माग बढेपछि लामो बाटो बोकेर डोकाको व्यापार गर्न व्यापारीहरु हुम्ला जाने गरेका छन् । सानो निगालोबाट बन्ने अछामे डोको बाजुराको ढम्कने गाउँमा मात्र बन्ने गरिन्छ । डोकाको नाम अछामे हुनु पनि अनौठो कहानी छ ।
पराकालमा अछाममा व्यापार तथा भेडाबाख्रा पाल्न लैजाँदा डोकाको बढी प्रयोग हुने भएकोले ‘अछामे डोको’ नामाकरण भएको हुम्लाका वृद्धहरुको भनाई रहेको छ ।
डोको पुत्रे निगालो रैसको काब्रोबाट कस्सीएर बनाइएको बलियो बोक्ने साधन हो । गाउँघरमा दाउरा ल्याउन, घाँसपात ल्याउन, समान ओसार–प्रसार गर्न तथा खेतमा प्राङ्गारिक मल लैजान डोकाको प्रयोग गरिन्छ ।
-ujyaaloonline.com









प्रतिक्रिया दिनुहोस्