चमेलीया जलविद्युत आयोजनाको आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने



कैलाली,२७ माघ/ राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको शनिबार औपचारिक उदघाटन गरिदैछ । नेपालको लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

आयोजनाको उद्घाटनका लागि प्रधानमन्त्री देउवा सहित ३४ जना बिशिष्ट अतिथी तीनवटा हेलिकोप्टरमा विहान ११ बजे आयोजनास्थल बचाल पुग्ने आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिनुभयो ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ सालको पुसदेखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गएको पुसदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।

निर्माण सुरु भएको ठिक ११ वर्षपछि चमेलियाबाट बिजुली उत्पादन सुरु भएको हो । २०६८ सालमा निर्माण सक्ने लक्ष्य राखिएपनि पटकपटक म्याद थप गर्दै ६ वर्ष ढिलो सकिएको हो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत पनि बढेको छ ।

साढे ८ अर्ब रुपैयामा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर १६ अर्ब पुगेको आयोजनाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार