कोहलपुर, २६ माघ/ प्रदेश नम्बर ५, ६ र ७ को प्रवेशद्वारको रुपमा परिचित रहेको बाँकेको कोहलपुरलाई अन्तर्राष्ट्रिय मार्गको रुपमा विकास गर्नुपर्ने माग गरिएको छ । कोहलपुरमा शुक्रबार सुरु भएको कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनमा सहभागीहरुले कोहलपुरलाई औद्योगिक शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
महोत्सवको उद्घाटन गर्दै बाँकेका क्षेत्र नम्बर १ का सांसद महेश्वरजंग गहतराज (अथक)ले सुन्दर नगरी कोहलपुरलाई भारत र चीन जोड्ने शहरको रुपमा विकास गर्न सके मुलुकले लाभ लिन सक्ने बताउनुभयो । उद्घाटनमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीलगायतले कोहलपुरको सम्वृद्धिका लागि जोड दिनुभयो ।
आयोजक कोहलपुर उद्योग वाणिज्य सङ्घले बचत रकमबाट बहुउद्देश्यीय सभाहलसहित भवन निर्माण गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महोत्सवबाट बचत अन्य रकम कोहलपुर क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत अन्य सामाजिक काममा खर्च गरिने लक्ष्य राखिएको छ । अध्यक्ष अधिकारीले भन्नुभयो ‘सबैभन्दा मुख्य उद्धेश्य कोहलपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चिनाउनु नै हो । ’
महोत्सव अवधिभर करिब ६ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान सङ्घको छ । महोत्सवका मुख्य आकर्षणका रुपमा थारु समुदायको संस्कृति झल्कने थारु गाउँसहित सूचना तथा प्रविधिलाई समावेश गरिएको छ । महोत्सवमा कुल तीनसय स्टल रहेकोमा २ सय व्यवसायिक रहेका छन् । यसैगरी जडिबुटी, शिक्षा र कृषिका ५०, थारु गाउँ, सूचना प्रविधि र होटलका अन्य एकसय वटा स्टल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्