प्रदेश–७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस



धनगढी,१९ माघ/  माओवादी केन्द्रले प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

वाम गठबन्धनले प्रदेश नम्बर–७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।

उक्त दलका प्रदेश नम्बर–७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौंमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।

उनले भने–‘अब दुई/तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।’ यसअघि, २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए ।

बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन् ।

प्रदेश नम्बर–७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्नेगरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउनेक्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ ।

त्यसैगरी, प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली कांग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ ।

डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताए ।

imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार