कञ्चनपुर,,१५ माघ/ भारतीय सिमा सुरक्षा बल एसएसवीले नेपाली भूमीमा बनाउन लागेको सडक निर्माणमा अवरोध गरेपछि कञ्चनपुरको बेलौरीमा तनाव भएको छ ।
बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले रोकेपछि अहिले नेपाली पक्षले सिमा क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।
उनिहरुले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । दशगजा क्षेत्रमा सडक बनाउन नपाइने नियम अनुसार नै रोकिएको भारतीय पक्षको दावी छ भने दशगजा क्षेत्र भन्दा १५ मिटर वरै आएर एसएसवीले हस्तक्षेप गरेको नेपाली पक्षको आरोप छ ।
सिमा क्षेत्रमा थप तनाव हुन नदिन पर्याप्त सुरक्षकर्मी खटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो ।
अहिले विवाद मिलाउन नेपाली र भारतीय पक्षविच वार्ताको तयारी भैरहेको पनि उहाँले जानकारी दिनुभयो । सडक निर्माणकै क्रममा पोहोरसालको चैतमा झडप हुँदा भारतीय प्रहरीले चलाएको गोली लागेर पुनर्वासका गोविन्द गौतको ज्यान गएको थियो ।
विगतका जस्तै घटना नदोहोरियुन भनेर सुरक्षा व्यवस्था कडा बनाइएको पनि प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्